४ श्रावण २०८३, सोमबार

 

प्रहरीले सार्वजनिक गर्‍यो बैंक लुट्ने ५ चिनियाँ ह्यकर

नेपाली बैंकका एटीएमबाट अनधिकृत रूपमा रकम निकाल्दै गर्दा पक्राउ परेका चिनियाँ ह्याकरहरूलाई प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी ५ जना चिनियाँ नागरिकलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिकहरू लिन जियानमेङ, लुओ जियालेइ, झु लियानगाङ, किउ युनकिङ र चेन बिन बिन छन् ।

उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर, चिनियाँ युआन १ हजार १ सय ९१, अमेरिकी डलर ९ हजार १ सय ८, कम्बोडियाको मुद्रा ५ हजार र युरो २ सय ५० बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै प्रहरीले उनीहरुबाट नेपालीसहित उक्त विदेशीमुद्राबाहेक नक्कली भिसाकार्ड १ सय ३२ थान, सक्कली भिसाकार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन, ६ वटा मोबाइल, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड ११ थानसमेत बरामद गरेको छ।

प्रहरीका अनुसार उनीहरूले नविल बैंकको दरबारमार्गमा रहेको एटीएम, हिमालयन बैंकको ठमेलमा रहेको एटीएम र प्रभु बैंकको कमलपोखरीमा रहेको एटीएमबाट रकम निकालेका थिए ।

पक्राउ परेका पाँचै जनाविरूद्ध बैंकिङ कसुरमा म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चीनबाट शुक्रबार उनीहरु नेपाल आएका थिए। सोमबार र मंगलबार आलोपालो गरी चीन फिर्ता हुने उनीहरूकाे याेजना रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung