३ श्रावण २०८३, आईतवार

 

सिमेन्टको मूल्य घट्यो

उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य घटाएसँगै गैँडाछाप सिमेन्टको बिक्री ह्वात्तै बढेको छ । प्रतिबोरा ८०३.४३ मा बिक्री हुने गरेको उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य पच्चीस रुपैयाँ घटाएर प्रतिबोरा ७७८.४३ मा बिक्री गर्न थालेपछि गैँडाछाप सिमेन्टको बिक्री ह्वात्तै बढ्न पुगेको उदयपुर सिमेन्ट उद्योग प्रशासनले जनाएको छ ।

प्रतिदिन चार हजार बोरादेखि ६ हजार बोरासम्म बिक्री हुने गैँडा छाप सिमेन्टको मूल्य केही दिनअघि घटाएसँगै अहिले प्रतिदिन १० हजार बोराभन्दा माथि बिक्री हुने गरेको उदयपुर सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताए ।

देशमा अन्य सिमेन्टको पनि मूल्य घटेका कारण गैँडा छाप सिमेन्टको पनि मूल्य घटाइएको र मूल्य घटाए लगत्तै सिमेन्ट बिक्रीमा दोब्बरले वृद्धि भएको पनि उद्योग प्रशासनले बताएको छ । अहिले उदयपुर सिमेन्ट उद्योगबाट उत्पादन गरिएको गैँडाछाप सिमेन्टको बिक्रेता डिलर भएका प्रदेश नं १, प्रदेश २, प्रदेश ३ र प्रदेश नं ४ मा बिक्री भइरहेको पनि उद्योग प्रशासनले बताएको छ ।

दैनिक पूर्ण क्षमतामा ८०० मेट्रिकटन सिमेन्ट अर्थात् १६ हजार बोरा उत्पादन गर्दै आएको यस उद्योगमा अहिले पनि झण्डै एक लाख बोराभन्दा बढी सिमेन्ट स्टक रहेका छन् । सिमेन्टको उत्पादनमा तीव्रता आइरहेका बेला मूल्य घटाएसँगै बिक्रीमा पनि दोब्बरले वृद्धि भएको उद्योग प्रशासनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung