२ जेष्ठ २०८२, शुक्रबार

 

वीरमा उमेरहद घटाएर १० कर्मचारीको जागिर खोसियो

काम गर्ने उमेर बाँकी छँदाछँदै वीर अस्पतालका १० कर्मचारी जागिरबाट निकालिएका छन् । श्रम ऐनअनुसार ५८ वर्षे उमेरहद भए पनि उनीहरूलाई ४५ वर्षको उमेरहद लगाएर निकालिएको हो ।
उक्त कार्य कानुनविपरीत रहेको भन्दै श्रम कार्यालयले समेत अस्पताल प्रशासनलाई जवाफ पठाउन पत्र लेखेको छ ।

दसै जना वीरमा ११ वर्षदेखि सफाइ कर्मचारीका रूपमा कार्यरत थिए । अस्पतालका खरिद एकाइ प्रमुख भगवती थपलिया, सदस्य भूपेन्द्रकुमार कार्की र ठेकेदार नमस्ते गार्डेनिङ कन्सल्टेन्सी प्रालिको मिलेमतोमा आफूहरूलाई निकालिएको पीडित मुना बजगाईंले बताइन् । प्रालिले चालू आर्थिक वर्षको सुरुमै वीरमा कर्मचारी राख्ने ठेक्का पाएको थियो । ‘कम्पनीले आफ्ना मान्छे राख्न काम गरिरहेका हामीलाई निकालेको हो,’ उनले भनिन् ।

रातिको सिफ्टमा काम गर्दै आएका उनीहरूलाई असार १ देखि नआउन चिठी थमाइएको थियो । तर आफूहरूलाई नियमविपरीत निकालिएको भन्दै दसै जना अहिले पनि अस्पताल आएर काम गरिरहेका छन् । तलब भने पाएका छैनन् ।

त्यसो त कम्पनीले अन्य कर्मचारीलाई पनि तलब नदिएको भन्दै २३ जनाको हस्ताक्षरसहितको पत्र अस्पताल प्रशासनलाई बुझाइएको छ ।

प्रशासन पनि आफूहरूलाई न्याय दिलाउने पक्षमा नरहेको कर्मचारी ममता तामाङले बताइन् । ‘यहाँ काम गर्ने ६० जनामध्ये १० जनालाई कानुनविपरीत निकालिएको छ । तैपनि साँझमा आएर काम गरिरहेकै छौं,’ उनले भनिन्, ‘सरकारले अस्पतालका कर्मचारीको तलब र भत्ता वृद्धि गरेकाले आफ्ना मान्छे राख्न हामीलाई निकालियो ।’

निकालिएको भनी चिठी काटिएका कर्मचारीमा मुना बजगाईं, ममता तामाङ, जुनकिरी श्रेष्ठ, शान्ता नेपाल, इन्द्रा राना, वसुन्धरा रम्तेल, हिरा नेपाली, दिलबहादुर परियार र आइतमान तामाङ छन् ।

उक्त कम्पनी यसअघि पनि पटकपटक कारबाहीमा परिसकेको छ । २०७२ मा नेपाल टेलिकममा पनि कर्मचारी राख्ने ठेक्का लिएकोमा कानुनअनुसार तलबभत्ता नदिएको भन्दै श्रम कार्यालयले २५ हजार रुपैयाँ जरिवाना गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung