भारतीय जनता पार्टीका प्रवक्ता डा.विजय सोनकर शास्त्रीले गान्धीको याेगदान र नेपाल–भारत सम्न्धबलाई बिर्सन नसकिने बताए । नेपालमा सी–पथले भौतिक विकास गरे पनि मानवीय मूल्य र मान्यता कायम गर्न जी–पथ आवश्यक रहेको उनले तर्क गरे ।
उनले नेपालले सी–पथ अँगाले पनि जनताको मनमा जी–पथ नै रहेको बताए । उनले जीकाे अर्थ गान्धीपथ भनेका हुन् । शान्ति र अहिंसाबिना जति नै विकास भए पनि स्थायित्व नहुने उनले बताए ।
गान्धी दिवसका अवसरमा राजधानीमा भएका विभिन्न कार्यक्रममा नेपाली तथा भारतीय नेताहरुले नेपालको राजनीतिक परिवर्तन गान्धीको मूल्य र मान्यताबाटै सम्भव रहेको बताए । महेन्द्रनारायण निधि प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको ०७ सालको परिवर्तन होस् वा ०४६ र ०६३ को परिवर्तन, गान्धीको अहिंसात्मक विचारधाराले सम्भव भएको बताए ।
कांग्रेसका संस्थापक नेता बीपी कोइराला भारतको स्वतन्त्रता आन्दोलनमा जेलसमेत बसेकाे प्रसंग स्मरण गर्दै उनले नेपालको राजनीतिमा गान्धीकाे प्रभाव रहेको बताए । उनले गान्धी विकेन्द्रीकरणको सोचका अग्रज रहेको पनि स्मरण गरे । गान्धीको ग्रामस्वराजको सिद्धान्त आर्थिक आत्मनिर्भरताको सिद्धान्त भएको उनले बताए । गान्धीको आर्थिक नीतिमा आधारित लघु उद्योगले देशमा रोजगारी सिर्जना गर्न सकिए बेरोजगारी समस्या समाधान हुने उनले बताए ।
उनले भने, ‘गान्धी राजनीतिमा मात्र नभएर आर्थिक र सामाजिक नीतिका समेत चिन्तक हुनुहन्थ्यो ।’ कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसकाे जन्म नै गान्धीको प्रभावबाट भएको बताए । उनले राष्ट्रिय कांग्रेस स्थापना हुँदा अहिंसात्मक नीतिबाट आन्दाेलन गर्ने उल्लेख भएको बताए । उनले नेपालमा गान्धीकाे विचार हिजो, आज र भोलिका लागि पनि उत्तिकै सान्दर्भिक रहेको विश्वास व्यक्त गरे ।
कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले गान्धीको अहिंसा सधैं सबैका लागि अनुकरणीय रहेको बताए । उनले प्रतीकात्मक रूपमा नेपाली राजनीतिले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको जानकारी गराए । उनले भने, ‘आत्मसमीक्षा र निरीक्षण गर्नुपर्ने बेला आएको छ ।’
भारतका पूर्वविदेशमन्त्री सलमान खुर्सिदले नयाँ पिढीलाई गान्धी विचार आदर्शसँग जोड्नुपर्ने बेला आएको बताए । गान्धी आदर्श र सिद्धान्तमा आत्मविश्वास र आन्तरिक स्वच्छता रहेको जानकारी गराउँदै उनले नयाँ पुस्तालाई त्यसबारे जानकारी गराउन आवश्यक रहेको स्पष्ट पारे । महान सोचका अग्रज गान्धी नेपाल र भारतका भन्नुभन्दा पनि विश्वमानव रहेको तर्क उनले गरे ।
कार्यक्रममा भारतीय राजदूत मनजितसिंह पुरीले गान्धीको संगतमा रहेका तुलसी मेहर श्रेष्ठको स्मरण गर्दै भारतको आजादीको आन्दोलनमा नेपालीको पनि साथ र सहयोग रहेको स्मरण गरे । उनले नेपाल कहिल्यै कसैको गुलाम नभएको तर्क गर्दै यहाँको राजनीति फरक विचारबाट सञ्चालित हुने गरेको बताए । उपनिवेशको पीडा भारतीयले भोगेको उल्लेख गर्दै गान्धीको अहिंसात्मक आन्दोलनबाट भारत स्वतन्त्र भएको उनले बताए ।
नेपाली कांग्रेसका उपसभापति तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधिले नेपालको परिवर्तनमा विगतदेखि गान्धीको अहिंसात्मक आदर्श र विचारको प्रभाव रहेको जनाए । उनले ०४६ सालको आन्दोलनको प्रारम्भको स्मरण गर्दै त्यति बेला भारतबाट आएका नेता चन्द्र शेखरले गान्धीकाे ‘मनबाट भय हटाउन आवश्यक छ, भय हटाउने हो भने दुनियाँको तागतले परिवर्तनलाई छेक्न सक्दैन’ भनेकाे र त्यसले जनतालाइ नैतिक बल सिर्जना गरेकाे बताए। उनले भने, ‘नेपालको राजनीतिक परिवर्तन सधैं अहिंसात्मक आन्दोलनबाट मात्र सम्भव भएको छ ।’
















































































































































































