सरकारले घोषणा गरेको नेपाल भ्रमणवर्ष २०२० लाई सघाउन बागलुङमा मोटरसाइकल यात्रा गरिने भएको छ ।नेपाल आउने पर्यटकलाई बागलुङका पर्यटकीय क्षेत्रसम्म जोड्न प्रचारप्रसार गर्ने ध्येयले बागलुङ कालिका भगवतीको मन्दिरदेखि पर्यटकीय गाजाको दहसम्म मोटरसाइकल यात्रा गर्न लागिएको हो ।
‘पहिला गृहजिल्ला अनि मात्र स्वदेशका चार किल्ला’ भन्ने नारासाथ हुन लागेको कार्यक्रमलाई पर्यटन विकास केन्द्र बागलुङ, घुमन्ते ‘दी अमेजिन ट्राभलर्स’ र सामुदायिक घरवास, गाजाले संयोजन गर्दै छ ।
आगामी कात्तिक ९ गते शनिबार पारेर मोटरसाइकल यात्रा गरिने संयोजक खिमबहादुर क्षेत्रीले बताए । प्रसिद्धि कमाएका पर्यटकीय क्षेत्रसँग जोडेर प्रचार–प्रसार अभावमा ओझेलमा रहेका क्षेत्रको प्रचार गरिने उनले जनाए ।
‘बाहिरबाट आउने पर्यटक बागलुङका पर्यटकीय स्थलबारे जानकारी नहुँदा मुस्ताङ, म्याग्दी पुग्ने गर्छन्,’ बागलुृङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले ले भने, ‘मोटरसाइकल यात्राले जिल्लामा पर्यटकको संख्या भित्र्याउन र पर्यटनवर्ष २०२० लाई सफल बनाउन सहयोग गर्छ ।’
बागलुृङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले भने ‘कालिका मन्दिरदेखि गाजाको दहसम्मको मोटरसाइकल यात्राको कार्यक्रमले यस क्षेत्र ग्रामीण पर्यटनको विकासमा कोशे ढुंगा हुनुको सार्थै बागलुङको मुख्य गन्तव्यहरुमा पर्यटकको भित्र्याउन र पर्यटनवर्ष २०२० लाई सफल बनाउन मद्दत गर्ने छ ।’
कालिका मन्दिरदेखि गाजाको दहसम्मको यात्रामा धवलागिरि, अन्नपूर्ण र नीलगिरिजस्ता एक दर्जनभन्दा बढी हिमाल अवलोकन गर्न सकिन्छ । गाजाको धुरीबाट विभिन्न आठ जिल्लाका उच्च बस्तीहरू देख्न सकिने बागलुृङ पर्यटन विकास समितिका सचिव चोखालले जानकारी गराए ।
‘कालिका र गाजालाई जोड्न सके प्रकृतिसँग रमाउनेहरू यहाँसम्म आउँछन्,’ उनले भने, ‘धर्म मान्दै प्रकृति हेर्नेहरूका लागि यी दुई गन्तव्य उपयुक्त हुन् ।
समुद्री सतहदेखि २४ सय ८० मिटर उचाइमा रहेको गाजाको दह धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको ठाउँ हो । सरकारले विकास गर्नुपर्ने एक सय गन्तव्यमा सूचीकृत गरेपछि यसको महत्त्व झन् बढेको छ । गाजाको दहमा पर्यटक भित्र्याउन वरपरको क्षेत्रमा घरवाससमेत सञ्चालनमा आएका छन् ।
















































































































































































