१५ कार्तिक २०८३, शनिबार

 

समूह नै बनाएर समाजसेवा

रोजगारीका सिलसिलामा जापानमा रहेका केही युवाको समूहले डेढ वर्षयता प्रत्येक महिनाजसो विपन्न, गरिब, दलित र पिछडिएका परिवारलाई सहयोग गर्दै आएको छ । ५–६ जनाले ‘हेल्प हेभ्री मन्थ फर समवान’ समूह नै बनाएर सहयोग गरिरहेका छन् । समूहमा विमल श्रेष्ठ, प्रह्लाद अधिकारी, निसान भट्ट, लोकेन्द्र भण्डारी, सुवास खत्री र मीन थापा छन् । उनीहरू कहिले धादिङको चेपाङ बस्ती, कहिले चितवनका मृगौलापीडित, कहिले आर्थिक अभावमा परेका विद्यार्थीलाई लत्ताकपडा र नगद सहयोग गरिरहेका हुन्छन् ।

केही दिन पहिले यो समूहले बागलुङको गलकोट नगरपालिका ७ मल्मका २ परिवारलाई नगद र लत्ताकपडा उपलब्ध गरायो । स्थानीय जनहित कला केन्द्रको पाँचौं वार्षिकोत्सव तथा तिहार मेलाका अवसरमा विपन्न कुमारी दमाई र धनकुमारी विश्वकर्मालाई झन्डै ५० हजारबराबरको खाद्यान्न, लत्ता कपडा र नगद सहयोग गरेको समूहका सदस्य सुवास खत्रीले जानकारी दिए ।

आपत्–विपत्मा परेकालाई थोरै भए पनि राहत होस् भनेर सहयोग गर्न थालिएको उनले बताए । गत वर्ष धादिङको गल्छी गाउँपालिका–३ पोखरीका कृष्ण वाणालाई २१ हजार नगद, ६ हजारको खाद्यान्न र ३ हजारको लत्ताकपडा सहयोग गरिएको सदस्य मीन थापाले जानकारी दिए । उनका अनुसार धादिङकै ज्वालामुखी–१ का प्रसाद दुवाडीलाई नगद ४० हजार आर्थिक सहयोग उपलब्ध गराइएको थियो ।

समूहले प्रत्येक महिना देशभरका कुनै न कुनै स्थानमा सहयोग गर्दै आएको छ । उनीहरूले समूहभित्रबाटै सक्दो रकम संकलन गरेर सेवामा खर्चने गरेको सदस्य निशान भट्टले जानकारी दिए । उनले आर्थिक अभावका कारण दुःख पाइरहेकाहरूलाई सेवा गर्नु आफूहरूको दायित्व रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung