२५ भाद्र २०८३, बिहीबार

 

पर्यटक आकर्षित गर्न गलकोट घुम्टे महोत्सव हुँदै

बागलुङको गलकोट क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्ने उद्देश्यले आगामी मंसिरमा ‘गलकोट घुम्टे महोत्सव’ हुने भएको छ । गलकोट पर्यटन विकास केन्द्र बागलुङले मंसिर ४ देखि ११ गतेसम्म महोत्सव गर्न लागेको हो

गलकोट क्षेत्रको मौलिकपन झल्काउने र सांस्कृतिक तथा कृषि–उपजको प्रदर्शनीसहित पर्यटकलाई आकर्षित गर्ने गरी मौलिक कार्यक्रमका रूपमा १३ वर्षपछि दोस्रो गलकोट घुम्टे महोत्सव गरिने भएको हो ।

गलकोटका पर्यटकीय स्थल र संस्कृतिबारे प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने महोत्सवको मुख्य लक्ष्य छ । सरकारले घोषणा गरेको आन्तरिक पर्यटन वर्ष सन् २०१९ र नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई सफल पार्न महोत्सवले सहयोग पुर्‍याउने गलकोट पर्यटन विकास केन्द्र बागलुङका अध्यक्ष झंकबहादुर बस्नेतले बताए ।

बाग्लुङ जिल्लाको गलकोट क्षेत्र भनेर चिनिने गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका ३ र ८ नम्बर वडालाई पर्यटकीय क्षेत्रको रूपमा अगाडि बढाउन महोत्सवको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा गलकोट क्षेत्रमा रहेका पर्यटकीय स्थलहरू घुम्टे धुरी, गलकोट दरबार, गाईघाट झर्ना र गुफा, उदय रिघा बुद्ध–बिहार, टेउवा, सहस्र धारा, पाण्डवखानी, निलुवा, नाच्ने डाँडाको विशेष प्रचारप्रसार गरिनेछ ।

गलकोट क्षेत्रको संस्कृतिका रूपमा रहेको भुस पोल्ने मेला, सिस्नो खोस्ने मेला, घाटु नाच, साराङ नाच, सोरठी तथा मारुनी नाच, लाखे नाच तथा भजन–कीर्तनलाई महोत्सवमा विशेष प्रस्तुतिका रूपमा राखिने केन्द्रका सचिव शेरबहादुर थापाले जानकारी दिए ।

मेलाको आकर्षणका रूपमा राष्ट्रिय खेल भलिबल, ब्याडमिन्टन, लोकदोहोरी तथा सांस्कृतिक प्रदर्शनी रहनेछन् ।

गलकोट क्षेत्रको उत्पादन ताराखोलाको आलु र दरमखोलाको असला माछा, रातो च्याउलगायत खाद्यान्न पनि बिक्री गरिने आयोजकले जानकारी दिएको छ ।

१ करोड ४५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिइएको महोत्सवमा १ करोड रुपैयाँ खर्च लाग्ने र बचेको ४५ लाख रुपैयाँले गल्कोटको पर्यटकीय क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर काम गरिने महोत्सव सचिवालय समिति सदस्य तथा आर्थिक व्यवस्थापन समिति संयोजक मञ्जु शर्माले जानकारी दिइन् ।

गलकोट क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरी पर्यटक भित्र्याउने लक्ष्यसाथ आयाेजना गरिएको महोत्सवको आन्तरिक तयारी तीव्र पारिएको छ । मेला सञ्चालन गर्न आर्थिक व्यवस्थापनका लागि केन्द्रको टोली देशका विभिन्न स्थानमा छलफलमा जुटेको छ ।

मेलाको ‘टाइटल स्पोन्सर’ प्रभु ग्रुपले गर्ने घोषणा गरेको केन्द्रका सचिवालय सदस्य मिलन केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung