चन्द्र ढकाल
एसोसिएट उपाध्यक्ष, उद्योग वाणिज्य महासंघ
उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको छाता संगठन हो । ७७ वटै जिल्लामा जिल्ला र नगरस्तरीय वाणिज्य संघ छन् । यो त्यहाँका व्यापारीहरूको प्रतिनिधिमूलक संस्था हो । जबसम्म सबै जिल्लाका साना तथा ठूला व्यवसायीको समस्या समाधान हुन सक्दैन, यो मुद्दालाई सरकारको नीतिनियम बनाउने तहमा लैजान सकिँदैन, त्यति बेलासम्म निजी क्षेत्र आर्थिक उन्नतिमा जान सक्दैन ।
हो, मेरो उम्मेदवारी यसैमा जोडिएको छ । समग्र जिल्ला, नगर उद्योग वाणिज्य संघअन्तर्गतका साना तथा ठूला व्यवसायीका समस्या नेपाल सरकारसमक्ष पुर्याएर नीतिगत तहबाटै तिनको समाधान गर्नु मेरो पहिलो कर्तव्य हुनेछ ।
अहिले नयाँ संरचनाअनुसार तीन तहका सरकार छन् । काम गर्ने सबालमा यी तीनै सरकारबीच दुबिधाजस्तो देखिएको छ । त्यसको असर उद्योग–व्यापारमा पनि परेको छ । त्यो दुबिधा हटाएर नेपालमा लगानीको वातावरण छ भन्ने म्यासेज दिन पहल गर्ने मेरो उद्देश्य हुनेछ ।
विकसित राष्ट्रहरूको इतिहास हेर्दा जहाँ निजी क्षेत्रलाई साझेदारका रूपमा अगाडि सारिएको छ, त्यहाँ व्यावसायिक वातावरण बनी समृद्धि हासिल भएको छ । तीनै तहका सरकारले जबसम्म निजी क्षेत्रलाई पार्टनरका रूपमा लिन सक्दैनन्, निजी क्षेत्रले अगाडि सारेका उद्योग–प्रतिष्ठानलाई आफ्नै हो भन्ने ठान्दैनन्, तबसम्म नेपालमा आर्थिक उन्नति हुन सक्दैन । संघीय संरचना लागू भएपछि धेरै नयाँ नियम आइसके तर यसको कार्यान्वयन पक्ष अहिले पनि अल्झिरहेकै छ ।
नयाँ संरचनाअनुसार तीन तहका सरकारको कार्यक्षेत्र कुन हो भन्नेमै अहिले समस्या देखिएको छ । व्यवसायीले तीनवटै तहमा ट्याक्स तिर्नुपर्ने बाध्यता छ । मैले महासंघको नेतृत्व सम्हाले आगामी दिनमा तीन तहका सरकारसँग बसेर यसलाई समाधान गर्ने बाटोमा लाग्छु ।

बागलुङ उद्योग वाणिज्य संघले जिल्लाबाटै उम्मेदवारी दिन प्रस्ताव गर्यो । त्यसलाई मैले सहर्ष स्विकारेको छु । म बागलुङमै जन्मेकाले पनि उहाँहरूले देखाएको मायाप्रति आभारी छु । पहिले–पहिले उद्योग वाणिज्य महासंघको नेतृत्वमा सर्वसम्मत हुने प्राक्टिस नभएको होइन । यसबीचमा धेरै कुरा सर्वसम्मतभन्दा चुनावी हिसाबले जाँदा बढी नै प्रतिस्पर्धा हुने भन्ने छ । तर अहिले अघिकांश उद्योग वाणिज्य संघका साथीहरूले प्रस्तावलाई समर्थन गरेकाले नेतृत्व चुनावी तरिकाले नभएर सर्वसम्मत हुने देखिएको छ । सर्वसम्मत नेतृत्वबाटै निजी क्षेत्रको विकास हुनेमा म विश्वस्त छु ।
(हालै महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका ढकालसँगको कुराकानीमा आधारित)
को हुन् ढकाल ?
ढकाल बागलुङको अमलाचौरमा २०२२ असार ९ गते जन्मिएका हुन् । उनले ०४८–४९ सालदेखि नै व्यवसाय सुरु गरेका थिए । सन् २००१ मा इन्टरनेसनल मनि ट्रान्सफर (आइएमई) ले उनलाई स्थापित गरायो ।
रेमिटेन्स, बैंकिङ, इन्स्युरेन्स, पर्यटन, पूर्वाधार, जलविद्युत्, सूचना प्रविधि, अटोमोबाइल, कार्गो, चन्द्रागिरि हिल्सलगायतमा उनको लगानी छ ।
ढकाल अध्यक्ष रहेको आइएमईले महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्राप्त गरिसकेको छ । त्यसै गरी रेमिटेन्स कम्पनीमध्ये सबैभन्दा बढी कर भुक्तान गरेबापत आइएमई लगातार तीन पटकसम्म ठूला करदाताका रूपमा सम्मानित भएको छ । नेपालमा कुल रेमिट्यान्समध्ये २५ प्रतिशत आइएमईमार्फत भित्रिने गरेको छ ।
सरकारले प्रदान गर्ने विभिन्न पुरस्कार तथा सम्मानबाट पटकपटक विभूषित भएका ढकाल इन्डोनेसियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत समेत हुन् ।
पछिल्लो समय उनको बायोडाटामा अर्को एउटा महत्त्वपूर्ण पद थपिएको छ । त्यो हो, नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्ष ।



















































































































































































































