बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बागलुङ पर्यटकीय सम्भावना बाेकेकाे जिल्ला भएकाले पूर्वाधार विकास गर्न सबै मिलेर काम गर्नुपर्ने बताएका छन् । सबैभन्दा पहिले गुरुयोजना बनाउनुपर्ने र सबै स्थानीय तहको सम्भावना र सामर्थ्यकाे गहिरो अध्ययन गरेर मात्र पर्यटन विकासको काम अघि बढाउनुपर्नेमा उनले जाेड दिए ।
बागलुङका ३०–४० स्थानका पर्यटकीय गन्तव्य समेटेर प्रोफाइल प्रकाशन गर्न लागिएकाे उनले जानकारी दिए । ‘यस क्षेत्रको पदमार्गका विषयमा गम्भीर भएर लागेका छौं । विश्वप्रसिद्ध ढोरपाटन सिकार आरक्षमा जाने पदमार्ग म्याग्दीबाट मात्र रहेछ । बागलुङबाट पनि ढोरपाटन जाने पदमार्ग खाेल्ने विषयमा विज्ञहरूसँग सूक्ष्म छलफल गर्दै छाैं,’ खड्काले भने, ‘पञ्चकोट, गाजाको दह, घुम्टे हुँदै जाने पदमार्गका विषयमा सरोकारवालाकहाँ प्रस्ताव लैजाँदै छौं ।’
खड्काका अनुसार यस क्षेत्रमा प्याराग्लाइडिङको पनि प्रचुर सम्भावना रहेकाले व्यावसायिक तालिमको तयारी भइरहेकाे छ । पर्यटकलाई गन्तव्यमा जान सहज बनाउन पर्यटन विकास समिति, गण्डकी प्रदेश सरकार र बागलुङ नगरपालिकाको सहकार्यमा बागलुङ बजारक मुख्य–मुख्य चोकमा पर्यटकीय नक्सा राख्ने याेजना छ ।
‘यस क्षेत्रको आर्थिक विकासमा पर्यटनको मुख्य योगदान हुने गरी सबै मिलेर अगाडि बढ्नुको विकल्प छैन,’ अध्यक्ष खड्काले भने ।
















































































































































































