१५ कार्तिक २०८३, शनिबार

 

टिपरको ठक्करबाट धनुषामा इन्जिनियरिङ अध्ययनरत छात्रको मृत्यु

धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका ओमप्रकाश भनिने २४ वर्षीय दिलीपकुमार महतोको टिपरले ठक्कर दिँदा मृत्यु भएको छ। अवैध रूपमा खोलाबाट बालुवा तथा गिट्टी उत्खननकाे विरोध जारी रहँदा भएको दुर्घटनालाई स्थानीयले शंकास्पद मानेका छन् ।

स्थानीयका अनुसार महतो भारतमा इन्जिनियरिङ अध्ययन  गरिरहेका थिए । बिहान मर्निङवाकमा रहेका महतोलाई टिपरले गलत दिशामा आएर ठक्कर दिएकाे थियाे । एक स्थानीयका अनुसार शुक्रबार बिहान अन्दाजी ५ बजे छिमेकी साथी रोशन यादवसँग मर्निङवाक गएका बेला घरनजिकैको खोलामा ना७ख ६४१३ नम्बरको टिपरले ठक्कर दिँदा उनको मृत्यु भएको हो। घटनापछि स्थानीय विरोधमा उत्रिएका छन् । उनीहरूले महताेकाे हत्या भएकाे आरोप लगाएका छन्। टिपर प्रहरीले नियन्त्रणमा लिएको छ।

महताेले लामाे समयदेखि अवैध उत्खननकाे विराेध गर्दै आइरहेका थिए । घटनाको विरोधमा स्थानीयले मिथिला नगरपालिकाको श्रीपुरस्थित रामलक्ष्मण चोकमा टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

घटनाको प्रकृति हेर्दा नियोजित हुन सक्ने इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए । फरार रहेका टिपर चालककाे खाेजी भइरहेकाे प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung