१६ कार्तिक २०८३, आईतवार

 

बागलुङ नगरको प्रहरी विधेयक पारित

बागलुङ नगरपालिकाले नगर प्रहरीसम्बन्धी विधेयक–२०७६ पारित गरेको छ । सोमबार आयोजित छैटौं नगरसभाले छलफलसहित विधेयक पारित गर्नुका साथै अन्य विभिन्न निर्णयसमेत गरेको छ ।

बागलुङ भ्रमणवर्ष–२०७७ का अवसरमा नगरक्षेत्रभित्र कम्तीमा २० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने, स्थानीय स्रोतसाधन प्रयोग हुने होटल तथा अन्य सेवामूलक एवं उत्पादनमूलक उद्योग निर्माण हुने, उद्योग स्थापना र सञ्चालन भएको मितिले ५ वर्षसम्म नगरपालिकाको नियमानुसार लाग्ने वार्षिक करमा ५० प्रतिशत छुट दिने, उद्योगमा सडक, विद्युत् तथा खानेपानी सुविधा पुर्‍याउन सघाउने नगरको निर्णय छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणि शर्माले जारी गरेको विज्ञप्तिमा नगर क्षेत्रमा सडक मापदण्ड मिचेर बनाइएका घरबाट लिइने जरिवाना न्यायोचित बनाउन एक महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी नगरको पूर्वाधार विकास समितिका संयोजक जीवन आचार्य संयोजकत्वको पूर्वाधार विकास समितिलाई जिम्मेवारी दिने जनाइएको छ ।

चालू वर्ष पाँचौं नगरसभाबाट स्वीकृत योजना कार्यान्वयन गर्न बजेट तथा कार्यक्रम संशोधनका लागि नगरकार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने, सिमदेखि कालीमाटी पैराबारीसम्मको सडक स्तरोन्नतिका लागि गण्डकी सरकारबाट उपलब्ध हुने ७५ लाख रुपियाँलाई कुल बजेटमा समावेश गर्ने निर्णयसमेत नगरसभाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung