मिलन व्यावसायिक कृषि सहकारी संस्था लिमिटेड, बडीगाड–२ खर्वाङको नवौं वार्षिक साधारण सभाको सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालले सहकारीको लक्ष्य र उद्देश्य प्राप्तिका लागि कृषिक्षेत्रको व्यावसायिक कार्यमा पुँजी परिचालन गर्नुपर्ने बताए ।
कार्यक्रममा बडीगाड–२ का अध्यक्ष ढालप्रसाद शेरचन, गुल्मी जिल्ला सहकारी संघका सदस्य गोपीकृष्ण खरेल, नवप्रतिभा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष होमनाथ अर्याल, त्रिभुवन नमुना माविका प्रधानाध्यापक ढालमणि भण्डारी, लेखा समिति सदस्य महलाल पौडेल, वडा सदस्य हिमा खराललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा अध्यक्ष दिनबहादुर केसीले भावी कार्यक्रमसहितको प्रगति प्रतिवेदन, कोषाध्यक्ष बाबुराम जिसीले करिब डेढ करोड बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
सहकारीले साधारणसभाका अवसरमा कृषि व्यवसायमा उत्कृष्ट सेयर सदस्य बडीगाड–१ का बाख्रापालक धर्मराज वन र मौरीपालक बेलबहादुर थापालाई सम्मान गरिएको थियो । त्यस्तै जिसस उपप्रमुख भुसाललाई संस्थाका तर्फबाट मायाको चिनो तथा नवनिर्वाचित वडाध्यक्ष शेरचनलाई सम्मान गरिएको थियो ।



















































































































































































































