२१ बैशाख २०८१, शुक्रबार

 

नेपाल भ्रमण वर्षमा विदेशी पर्यटक बागलुङमा ल्याउने तयारी

बागलुङ– नेपाल भ्रमण वर्षको सफलताका लागि आन्तरिकसँगै जिल्लामा विदेशी पर्यटक भित्र्याउने अभियान थालिएको छ । सिकारका लागि ढोरपाटन आउने र मुक्तिनाथ गएर फर्कंदा केही अवसरमा बाहेक विदेशी पर्यटक बागलुङ घुम्न आउँदैनन् ।
त्यसैले विदेशी पर्यटक आकर्षित गर्न  पर्यटन विकास समितिले योजना बनाउन थालेको हो । यसका लागि समितिले उद्योग वाणिज्य संघ, होटल संघ र रेस्टुरेन्ट व्यवसायीसँग सहकार्य गर्दै कार्यक्रम बनाएको हो ।
पहिलो चरणमा उनीहरूले पोखराका होटल तथा पर्यटन व्यवसायीसँग छलफल थालेका छन् । पोखरा आएका विदेशी पर्यटकमध्ये केही प्रतिशतलाई बागलुङसम्म ल्याउन पहल भएको हो । पोखरामा भारत, चीन, युरोप, अमेरिका र अस्ट्रेलियाका हजाराैं पर्यटक आउने गर्छन् ।

अन्तर्राष्ट्रिय उडानबाट काठमाडाैं आएकामध्ये ४० देखि ५० प्रतिशत पर्यटकले पोखरा रोज्ने गरेको पाइन्छ । ती पर्यटकको केही अंश भए पनि बागलुङ ल्याउने  कार्यक्रम बनाउन थालिएको पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए । गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्साल, पर्यटन बोर्ड पोखरा, तथा पोखराका व्यवसायीले यो अभियानमा साथ दिने निष्कर्ष निकालेको उनले जानकारी दिए ।

पर्यटकलाई खुसी पार्न होटलहरूको सेवा व्यवस्थापन, सरसफाइ, खानपान तथा अतिथि सत्कारमा ध्यान पुर्‍याउन पोखरेलीले सुझाव दिएको होटल व्यवसायी महासंघ गण्डकी प्रदेश संयोजक अर्जुन चोखालले बताए । भ्रमण वर्ष लक्ष्यित गरी पर्यटनमैत्री वातावरण तयार गर्न अभियान सञ्चालन गरिने समेत उनले बताए ।

गण्डकी प्रदेशका ४४ वटा पर्यटकीय गन्तव्यको पूर्वाधार बिकाससहित अन्य सुधारका काम थालिएकोले पर्यटकहरु गाउँ र जिल्लामा पुग्ने लम्सालले बताए ।

बागलुङका पञ्चकोट, शालिग्राम संग्रहालय, ढोरपाटनसहित बागलुङ कालिका मन्दिर, जैमिनी धाम, रुद्र ताल, भैरवस्थान मन्दिर, भकुन्डे, घुम्टेको धुरी, बिहुँकोट शिवालय, सत्यवती मन्दिर र गाईघाट झरनासम्म विदेशी पर्यटक लैजाने व्यवसायीको पनि तयारी छ । त्यसका लागि सडक पूर्वाधार छिटो सक्ने वातावरणका लागि राजनीतिक नेतृत्वलाई आग्रह गरेका थिए ।

प्रत्येक गन्तव्यमा ४० लाखका दरले प्रदेश सरकारले अनुदान दिने तयारी गरेको मन्त्री लम्सालले जानकारी दिए । उक्त बजेटले स्थानीय व्यवस्थापन गर्दा स्थानीय तह, प्रदेश र संघीय सरकारले कम्तीमा सडक बनाइसक्ने गरी पहल गरिने संघीय सांसद देवेन्द्र पौडेलले बताए ।

पोखरामा अन्तराष्ट्रिय उडान चल्न थालेपछि केही प्याराग्लाइडिङलाई बागलुङमा भित्राउने, बन्जी जम्प र बलेवामा निर्माणाधीन रिसाेर्टमा बस्ने व्यवस्था मिलाउने, धार्मिक र ऐतिहासिक स्थल घुमाउने प्याकेज बनाउन उनले व्यवसायीलाई आग्रह पनि गरे । निजी क्षेत्रको लगानी बढाउनुपर्नेमा पनि उनले जोड दिए । विदेशी पर्यटकले होहल्ला, धुलो नभएको शान्त स्थान रुचाउने भन्दै पर्यटन बोर्डका कार्यकारी निर्देशक काशी भण्डारीले भएका संरचनामा पर्यटकमैत्री वातावरण बनाउन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्