मालिका सेवा समाजको तेस्रो वार्षिक साधारणसभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । कार्यक्रममा बागलुङ क्षेत्र नम्बर १ का सांसद डा. सूर्य पाठकले समाजले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको सहयोग निकै प्रशंसनीय रहेको बताए ।
नेपाल अल्पविकसित देशबाट विकासशील युगमा प्रवेश गरेको भन्दै उनले अहिलेको सरकारले सुरुङ मार्गदेखि नागरिकको जीवनस्तर उकास्नेसम्मका योजना अगाडि ल्याएको जनाए ।
कार्यक्रममा समाजका सचिव तेजबहादुर कुँवरले प्रगति प्रतिवेदन, कोषाध्यक्ष दुर्गाबहादुर केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । समाजले गरेका काम समेटिएको स्मारिकासमेत विमोचन गरियो ।
कार्यक्रममा सञ्चारमाध्यमबाट मालिका सेवा समाजको प्रवर्धनमा भूमिका खेलेको भन्दै राष्ट्रिय समाचार समिति तथा धौलागिरि जागरण दैनिकमा कार्यरत पत्रकार खेमराज गौतम सुवासलाई नगद तथा प्रशंसपत्रसहित सम्मान गरिएको थियो । यस्तै बागलुङबाट १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा बागलुङबाट पदक विजयी नवीन रसाइली, सोफिया पुन, राजकुमार रसाइलीलाई समेत सम्मान गरियो । कार्यक्रममा मानव सेवा आश्रमलाई नगद ११ हजार सहयोग प्रदान गरिएको छ । मानवीय सेवा गर्ने भावनाका साथ २०७३ सालमा गठित समाजले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा नेपाल तथा विदेशमा रहेका नेपालीबाट रकम उठाई सहयोग गर्दै आएको छ ।
कार्यक्रममा समाजका विशिष्ट तथा आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
पूर्वऊर्जाराज्यमन्त्री तथा मालिका सेवा समाजका संरक्षक रामजीप्रसाद शर्मा, गण्डकी प्रदेश सांसद तथा नेकपा बागलुङका जिल्ला अध्यक्ष तथा मालिका सेवा समाजका सह–संरक्षक इन्द्रलाल सापकोटा, नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जब्बरबहादुर लामिछाने, बागलुङ नगरपालिका–५ मालिकाका वडाध्यक्ष शिव सापकोटा, बागलुङ नगरकार्यपालिका सदस्य कालिका सापकोटा, समाजसेवी कृष्णराज सापकोटा, नेपाली कांग्रेसका नेता होमबहादुर हमाल, नेत्रज्योति संघ बागलुङका सभापति भरत पुरी, हरेकृष्णका अच्युत दास, संस्थाका सल्लाहकार रेशम सापकोटालगायतले मन्तव्य राखेका थिए



















































































































































































































