मानव सेवा आश्रम बागलुङले आफ्नो संरक्षणमा रहेकाहरूको एचआईभी परीक्षण गराएको छ । धौलागिरि अञ्चल अस्पताल र धौलागिरि पोजिटिभ समूहको प्राविधिक सहयोगमा परीक्षण गरिएको हो ।
आश्रमले सडकबाट उद्धार गरी ल्याइएका ४० जनालाई आश्रय दिइरहेको छ । तिनमा शारीरिक र मानसिक रूपमा अशक्तहरू पनि छन् । सडकमा बेवारिस बसेकाहरूमा संक्रमणको जोखिम बढी भएकाले एचआईभी परीक्षण गरिएको आश्रम संयोजक सुमीरा लामाको भनाइ छ ।
मानिसक रोगबाट ग्रस्त व्यक्तिको उपचारका लागि सम्बद्ध विशेषज्ञलाई नै आश्रममा बोलाउने गरिएको छ ।
पछिल्लो समय बागलुङमा एचआईभी संक्रमितहरू खुल्न थालेको धौलागिरि पोजिटिभ समूहका अध्यक्ष चन्द्रबहादुर खत्रीले बताए ।
२०७३ चैतमा खुलेको आश्रमले आठ जना बेवारिस व्यक्तिलाई परिवारसँग पुनर्मिलन गराएको छ ।
बागलुङ राख्न नसकिने अवस्थाका केहीलाई पोखरा आश्रममा पठाइएको छ । कडा मनोरोगी, अस्वाभाविक व्यवहार गर्ने व्यक्तिलाई आश्रममा राख्न चुनौतीपूर्ण रहेको अभिभावक शिव खड्काले बताए ।
आश्रम सञ्चालनका लागि देशविदेशमा रहेका नेपालीले आर्थिक सहायता प्रदान गर्दै आएका छन् ।



















































































































































































































