१६ कार्तिक २०८३, आईतवार

 

तिलोत्तमा र मुसीकोटबीच भगिनी सम्बन्ध

गुल्मीको मुसीकोट नगरपालिका र रूपन्देहीको तिलोत्तमा नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । बुधबार मुसीकोट नगरपालिकाको सभाहलमा तिलत्तोमाका मेयर वासुदेव घिमिरे र मुसिकोटका मेयर सोमनाथ सापकोटाले ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा मेयर घिमिरेले दुई पालिकाबीचको सम्बन्ध गाउँ र बेसीका रूपमा रहने बताए । तिलोत्तमालाई आवश्यक स्रोत मुसीकोटमा र मुसीकोटलाई आवश्यक पर्ने स्रोत तिलोत्तमामा हुन सक्ने भन्दै उनले उत्पादन बजारीकरण, अनुभव आदानप्रदान गर्न यो सम्बन्धले सहयोग पुग्ने धारणा राखे । त्यस्तै मुसीकोटका मेयर सापकोटाले लुम्बिनीलाई ढोरपाटन र मुक्तिनाथसँग जोड्न ट्रान्जिट मुसिकोटलाई बनाउनुपर्ने भन्दै मुसीकोटको शीतलता र तिलोत्तमाको न्यानोले दुवै नगरपालिकालाई अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरी देवी चौधरी, नेपाल कम्युनिस्ट पार्टी नेकपाका रूपन्देही जिल्ला सदस्य तथा नगरकमिटी सचिव लक्ष्मण खनाल, नेकपाका मुसिकोट नगर कमिटी इन्चार्ज जीवन खरेल, नेपाली कांग्रेसका मुसीकोट प्रमुख झविलाल भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

दुवै नगर प्रमुखले हस्ताक्षर गरेको सम्झौताको साक्षीमा नगर उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung