सहज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले शनिबार एकदिने सहकारी व्यवस्थापन तथा नेतृत्व विकास तालिम सम्पन्न गरेको छ ।
सञ्चालक, कर्मचारी र सदस्यहरूलाई सहकारी ऐन, नियमावली र सहकारी व्यवसायका प्रभावकारिताबारे सचेत तथा सक्रिय बनाउन तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।
संघीय संरचना र सहकारी ऐन जारी भएपछि सहकारी संस्थाहरूलाई नयाँ नीति र विधिअनुसार अगाडि बढाउन सचेतना आवश्यक भएको संस्थाका अध्यक्ष पुष्प गिरीले जानकारी दिए ।
तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीलाई सदस्य केन्द्रित व्यवसायका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा सहकारी व्यवसायको प्रभावकारिताका लागि सञ्चालक र कर्मचारीको भूमिका, सहकारी ऐन तथा नियमावलीलगायत विषयमा जानकारी गराइएको थियो ।
तालिमका सहभागीले संस्थाको तीनवर्षे रणनीतिक योजनाअनुसार संस्थालाई सदस्यहरूको पहिलो रोजाइका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।



















































































































































































































