५ जेष्ठ २०८१, शनिबार

 

विदेशीको मन तान्दै बागलुङ कालिका

सरकारले घोषणा गरेको धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिकामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ ।
विभिन्न निकायले तेस्रो मुलुकका पर्यटकहरुलाई जिल्लामा भित्र्याउनुले पनि प्रसिद्ध बागलुङ कालिकामा पर्यटकको आगमनमा वृद्धि भएको हो ।

बागलुङको गलकोटमा भएको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा सहभागी ११ देशका विदेशी पर्यटकहरुको २ हप्ते बसाइले पनि बागलुङको पर्यटनमा नयाँ आयम थपिएको छ । जिल्लामा प्रवेशसँगै कालिका मन्दिरमा उनीहरुलाई स्वागत गरिएको थियो ।

पर्यटन व्यवसायी महादेव शर्मासहितको टोलीले बागलुङमा आउने पर्यटकलाई विभिन्न ठाउँको अवलोकन गराउने र स्थानीय स्तरमा भएका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको बारेमा जानकारी गराउने काम भइरहेको छ । जिल्लामा आउने विदेशी एवम् स्वदेशी पर्यटककाे राेजाइमा कालिका मन्दिरमा हुने आरती पूजा तथा भजन कीर्तन पर्ने गरेकाे छ ।

विदेशी पर्यटकहरुले बागलुङलाई निकै महत्व दिएर आउने र यस क्षेत्रको भ्रमण गरेपछि छुट्टै आनन्द लिने गरेकाे बागलुङ कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले बताए । कालिका मन्दिरमा हुने आरती पुजा अवलोकनका यो वर्ष दुई पर्यटकको समूहले नाम लेखाइसकेका छन् ।

गरिबी निवारण, रोजगारी सिर्जना तथा ट्रेकिङ टुरिजमबाट दुर्गम क्षेत्रका महिलाको आर्थिक विकास हुनु पर्ने यहाँ आउने पर्यटकको भनाइ छ ।

बेलायतका एक पर्यटकले करिब १८ वर्षअघि बागलुङ कालिकाको दर्शन गरेको बताएका छन् । मंगलबार कालिका मन्दिर पुगेका ती पर्यटकले ३ वर्षअघि पनि मन्दिरको दर्शन गर्न अवसर प्रदान भएकाे बताए ।

‘पहिला कालिका मन्दिर मात्रै थियो, अहिले आउँदा धेरै विकास भएको रहेछ, उनले भने, ‘गेटबाट भित्र छिर्दा मलाईं शान्ति क्षेत्रमा छु भन्ने अनुभव भयो ।’

बागलुङ कालिका मन्दिरलाई यसअघि देवीथान भनिन्थ्यो । तीर्थालुका लागि आस्थाको धरोहरका रुपमा लिइन्छ बागलुङ कालिका।

कालिका मन्दिरमा विदेशी पर्यटकको आगमनले आर्थिक तथा पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको अध्यक्ष खड्काले बताए ।

जिल्लाका मात्र नभएर गण्डकी प्रदेश तथा अन्य स्थानीय तह र निकायसँग समन्वय गरी काम गर्ने प्रयासमा प्राप्त भएको सहयोग र सहभागिताले थप उत्साह थपिँदै गएको खड्काले बताए ।

विगतमा कालिका मन्दिरको प्रवर्धदन र प्रचार प्रसारमा ध्यान केन्द्रीत गरिएकोमा अब पूर्वाधार विकासलाई पनि महत्व दिएर काम थालिएको खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्