५ जेष्ठ २०८१, शनिबार

 

वायुसेवा सञ्चालक संघले जहाज ‘ग्राउन्डेड’ गर्ने

वायुसेवा सञ्चालक संघ, नेपालले जहाजको संख्याअनुसार यात्रुको आवागमनमा कमी आए जहाजहरु ग्राउन्डेड (भूमिस्थ) गर्नेदेखि  कर्मचारीलाई बेतलवी बिदा दिनेसम्मकाे जानकारी गराएको छ । कोरोनाभाइरसका कारण विश्वभरको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेकोले यस्तो जानकारी गराउनु परेको संघले जनाएको छ ।

संघले सेवा सुविधा लगायतका अन्य सुविधा पनि कटौती गर्ने लगायतका निर्णय गरेको छ । महामारीको प्रत्यक्ष  प्रभाव हवाई क्षेत्रमा समेत देखिएको संघले जनाएको छ । नेपालको आन्तरिक हवाई उडानमा यस अवधिमा ४ अर्बभन्दा बढी आम्दानी घट्न सक्ने अनुमान संघले गरेको छ ।

सन् २०२० को पहिलो दुई महिनामा आन्तरिक हवाई यात्रामा विदेशी पर्यटकको संख्या ४० प्रतिशतले घटेको संघको भनाइ छ । बुकिङ धमाधम रद्द हुन थालेको र नेपाल प्रवेश गर्न प्रयोग हुने मुलुक चीन, हङकङ, कोरिया, थाइल्याण्ड, भारत, मध्यपूर्वी मुलुकमा पनि कोरोनाको प्रकोप देखिएका कारण आगामी दिनमा हवाई बुकिङ रद्द हुने क्रम अझै बढ्ने संघको अनुमान छ ।

‘सहज रुपमा नेपालभित्र स्वदेशी तथा विदेशी पर्यटकहरु आवत जावत गर्न सक्ने स्थिति देखिदैँन,’ संघका प्रवक्ता योगराज कँडेल शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसले कम्तीमा ६ महिनासम्म व्यवसायमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।’

अमेरिकी डलरमा लिइएको ऋणको साँवा र ब्याज नेपाली रुपैयाँमा समेत भुक्तानी गर्न सक्ने व्यवस्था हुनुपर्ने, हवाई इन्धनमा सरकारले लगाउँदै आएको भ्याट हटाउनु पर्ने र नेपालमा संसारकै महँगोमध्ये पर्ने हवाई इन्धनको कम्तीमा ३० प्रतिशत मूल्य घटाउनुपर्ने सुझाव दिएको छ ।

वायुयानहरुको विमा शुल्कमा लाग्दै आएको भ्याटमा पूर्ण छुट दिई विदेशी पुनर्बिमा कम्पनीहरुले स्वीकारेको अवस्थामा विदेशी पुनर्बिमा कम्पनीले दिएको क्रेडिट पिरियडअनुसार बिमा शुल्क भुक्तानी गर्न सकिने व्यवस्था हुनुपर्ने, नेपाल आयल निगमले माग्दै आएको नगद धरौटीको सट्टा बैंक ग्यारेन्टीलाई मान्यता प्रदान गरी कम्तीमा एक महिनाको क्रेडिट पिरियडपछि भुक्तानी लिने व्यवस्था हुनुपर्ने पनि संघको माग छ ।

प्रतिक्रिया दिनुहोस्