
कोरोना संक्रमणको जोखिम बढेसँगै बागलुङ उद्योग वाणिज्य संघले जिल्लाका अत्यावश्यकबाहेक सबै व्यवसाय चैत २१ सम्म बन्द गर्ने निर्णय गरेको छ ।
संघले सदरमुकाममा रहेका सबै वस्तुगत संघसँग बैठक गरेर चैत १० देखि २१ सम्म अत्यावश्यकबाहेक सबै व्यवसाय बन्द गर्ने निर्णय गरेको बागलुङ उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले जानकारी दिए ।
बैठकमा व्यवसायीहरूले आफूसँग भएको दैनिक सामग्री नलुकाईकन सर्वसुलभ मूल्यमा बिक्री गर्नुपर्ने निर्णयसमेत गरेको संघका अध्यक्ष युवराज राजभण्डारीले बताए ।
कोरोना संक्रमणको जोखिम बढेसँगै अध्ययन तथा व्यवसायका लागि बाहिर गएकाहरू जिल्ला फर्किरहेका छन् ।
सरकारले चैत १० देखि २१ गतेसम्म लामो दुरीका सबै यातायातसँगै व्यवसाय बन्द गर्न अनुरोध गरेकाले आम जनताको स्वास्थ्यलाई ध्यान दिएर यस्तो निर्णय गरिएको संघले जनाएको छ । बन्द अवधिभरको घरभाडा करलगायत पनि छुट गर्न सबै सरोकारवालासँग अनुरोध गरेको छ ।