
कोरोना भाइरस संक्रमितको संख्या धेरै देखिएका तीन जिल्लामा र्यापिड टेष्ट गर्ने सरकारको निर्णयसँगै बागलुङमा आन्तरिक तयारी थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र धौलागिरी अञ्चल अस्पतालले पहिलो चरणमा कोरोना संक्रमण परीक्षण गर्नेको तथ्यांक पनि तयारी गरेको हो ।
सम्भव भएसम्मका वार्डलाई आइसोलेसन बनाउने, औषधि, चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा परिचालित गर्ने तयारी भएको मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए। सरकारले शनिबारको मन्त्रिपरिषद् बैठकबाट कैलाली, कंचनपुर र बागलुङमा र्यापिड टेष्ट गर्ने निर्णय गरेको अर्थमन्त्री युवराज खतिवडाले जानकारी गराएका थिए। हाल अस्पतालमा सामान्य सेवा र स्वाब संकलनपछि पठाउने काम मात्र भैरहेको थियो।
‘गर्भवती र लागूपदार्थको सेवनकर्ता पत्ता लगाउन गर्ने जस्तै रगतको नमूनाबाट गरिने परीक्षण र्यापिड टेष्ट हो,’ शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले भने, ‘यो ५० देखि ६० प्रतिशत मात्र विश्वसनीय हुन्छ।’ स्वाबबाट परीक्षण गर्ने विधि ढीला भैरहेकोले छिटो गर्न र्यापिड टेष्ट ल्याएको पनि उनले बताए।
सानो किटबाट गर्न सकिने भएकोले १० देखि १५ मिनेटमै उक्त किटले एकजनाको रगत परीक्षण गर्न सक्छ। तर उक्त किटबारे गुणस्तरमा विवाद पनि छ।
पहिलो चरणमा यो विधिबाट विदेशबाट आएका, उनीहरुको परिवार र उनीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गरिने तयारी गरिएको प्रमख जिल्ला अधिकारी गौलोचन सैजुले बताए। त्यसपछि आवश्यकताको आधारमा समाजका हरेक क्षेत्रमा परीक्षणको दायरा बढाएर लैजाने तयारी छ।
तर सोमबार दिउँसोसम्म स्वास्थ्य मन्त्रालयले जिल्लामा किट पठाएको छैन। सामाग्री आउने नआउने सूचना पनि नपठाएको गुरौले बताए। ‘हामी तयारी छौं, तर सामाग्री आउने वा अन्य सूचना पनि आएको छैन,’ गुरौले भने,‘र्यापिड टेष्ट भनेपनि ढिलाइ हुँदा जोखिमको दर बढिरहेको छ।’
जिल्लामा कोरोना संक्रमणको शंका लागेका तथा संक्रमित बोक्ने सवारी छुट्टै बनाइएको छ। जिल्लामा ७ वटा मात्र एम्बुलेन्स रहेका छन्। ती ग्रामीण क्षेत्रका भएकोले सबैलाई अस्पतालको प्रयोगमा ल्याउन नसकिएपछि सरकारी कार्यालयका गाडी पनि प्रयोगमा ल्याउन थालिएको छ। प्रयोगमा आएका सवारीको सदुपयोग र व्यवस्थापनका लागि चालकसहित स्वास्थ्यकर्मीलाई समेत प्रशिक्षण दिन थालिएको पोखरेलले बताए।
संक्रमित भेटिएमा अस्पतालका सबै वार्डलाई आइसोलेसन बनाएर राख्ने तयारी छ। अहिले यो अस्पतालमा २ जना संक्रमितले उपचार गराइरहेका छन्। कोरोना रोकथामका लागि खटिएका विज्ञ डा. झलक गौतमका अनुसार कोरोनाले नेपालमा दोस्रो चरण लिइसकेकोले समुदाय तहको परीक्षणका लागि र्यापिड टेष्ट थालेको बताए।
कोरोना भाइरसबाट संक्रमित नवौं युवासँगै कञ्चनपुरबाट आएको पत्ता लागेपछि बागलुङको बरेङ गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ। उनीहरु सँगै आएका अन्य चारजना भने रुपन्देहीमा रहेको खुलेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए।
।





