४ जेष्ठ २०८१, शुक्रबार

 

कोरोनाले विश्वभर ११७ नेपालीको मृत्यु

कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म विश्वभर मृत्यु हुने नेपालीको संख्या १ सय १७ पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए )का अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

संयुक्त अरब इमिरेट्समा ९, साउदी अरबमा पाँच, बेलायत र नेपालमा दुई–दुई तथा संयुक्त राज्य अमेरिका, कतार र कुवेतमा एक–एक नेपालीको यो साता निधन भएको हो ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६५ गैरआवासीय नेपालीको मृत्यु भएको छ।

त्यस्तै यूएईमा १८ , अमेरिकामा १६, साउदी अरबमा सात, नेपालमा तीन तथा कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड्स, बहराइन, स्विडेन, कतार र कुवेतमा एक–एक जनाको मृत्यु भएको एनआरएनए कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

मृत्यु हुनेमा ९५ पुरुष र १९ महिला रहेको समितिले जनाएको छ । त्यस्तै ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको निधन भएको छ। स्वास्थ्य समितिको तथ्यांकअनुसार २३ प्रतिशत ४० देखि ५० वर्ष उमेर समूहका छन् । ४० वर्षभन्दा कम उमेरसमूहमा निधन हुने नेपाली १६ प्रतिशत छन्। बाँकी आठ प्रतिशतको उमेर समूह खुलेको छैन।

सापकोटाका अनुसार नेपालसहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । तीमध्ये मध्यपूर्वमा ७२, अमेरिकामा १३, युरोपमा १० र एसियामा पाँच प्रतिशतमा संक्रमण देखिएको छ ।

अस्ट्रेलियामा एक प्रतिशतभन्दा कममा संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकका कुनै नेपालीमा संक्रमण देखिएको छैन । संक्रमितमध्ये चार हजारभन्दा बढी नेपाली कोरोनामुक्त भइसकेको सापकोटाले जानकारी दिए ।

अत्यधिक प्रभावित देशमध्ये बेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर निकै कम हुँदै गएको र मध्यपूर्वका देशमा बढ्दै गएको समितिको तथ्यांक छ ।

कतारमा ६ हजार ९ सय ११, अमेरिकामा १ हजार ६ सय, बेलायतमा १ हजार २ सय ३०, साउदी अरबमा १ हजार ३ सय ६४, नेपालमा ५ सय ८५, यूएईमा ५ सय, बहराइनमा ३ सय ११, कुवेतमा ८४, मलेसियामा ५५, पोर्चुगलमा ४२, आयरल्यान्डमा २२, स्पेनमा १३, क्यानडामा १८, अस्टे«लियामा १२, माल्दिभ्समा १६, जापानमा १०, बेल्जियममा ६, स्विट्जरल्यान्डमा पाँच, जर्मनी र फिनल्यान्डमा चारचार, साइप्रस र न्युजिल्यान्डमा तीन–तीन, माल्टा, हङकङ, पोल्यान्ड र रुसमा दुईदुई तथा म्यानमार, रोमानिया र फ्रान्समा एक नेपालीलाई संक्रमण भएको छ। यो साता रुस, रोमानिया र भारतका नेपालीमा नयाँ संक्रमण देखिएको छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसविरुद्ध लड्न एनआरएनएले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरेको थियो ।

संस्थाले स्वास्थ्य, आर्थिक, विद्यार्थी, श्रमिक, महिलालगायत उपसमिति गठन गरी विश्वव्यापी रूपमा आफ्नो सञ्जाललाई कोरोनापीडितका लागि राहत वितरण गर्न परिचालन गरेको संघका महासचिव डा हेमराज शर्माले जानकारी दिए ।

उनका अनुसार कोरोना पीडितका लागि राहत वितरण गर्न ४९ देशमा २ हजारभन्दा बढी स्वयंसेवक खटाइएको छ । संस्थाले शनिबार साँझसम्म ४० हजारभन्दा बढी गैरआवासीय नेपालीलाई राहत वितरण गरेको छ भने संस्थाबाट ६२ हजारभन्दा बढीले परामर्शसेवा प्राप्त गरेका छन् ।

संस्थाले स्थापना गरेको कोरोनापीडित राहत कोषमा विभिन्न राष्ट्रिय समितिबाट आठ करोड रुपैयाँ संकलन गरिएको संस्थाका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिए । संस्थाले यसअघि १० देशका नेपालीलाई आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्