४ श्रावण २०८३, सोमबार

 

भन्सारमा थन्किएका गाडी धमाधम छुटाउँदै व्यवसायी

वीरगन्जका तीनवटा भन्सार नाकाबाट व्यवसायीहरूले धमाधम सवारीसाधन छुटाउन थालेका छन् । जेठ १५ गते हुने बजेट भाषणअगावै नेपाली आयातकर्ताहरूले भन्सार विन्दुमा लामो समयदेखि होल्ड भएका सवारीसाधनको जाँच पास गराउन थालेका हुन् ।

वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले आगामी बजेटमा सवारीसाधन आयातमा कर बढ्ने अनुमानका आधारमा धमाधम गाडी छुटाएर व्यवसायीले लैजान थालेको बताए ।

आगामी आर्थिक वर्षको बजेटमा गाडीको आयातमा राजस्व दर बढाइए ठूलो घाटा नलागोस् भन्ने अभिप्रायस्ले उनीहरूले गाडी छुटाउन थालेका हुन सक्छन्,’ उनले भने । बन्दरगाहबाट पछिल्लो २० दिनको अवधिमा १५० वटा विद्युतीय गाडीको जाँच पास गरी पठाइएको उनले जानकारी दिए ।

पूर्ण विद्युतीय एमजी ब्रान्डका डेढ सयवटा कारको जाँच पास गरी आयातकर्ताले काठमाडौं लगेको जनाइएको छ। एमजीको एउटा विद्युतीय कारको मूल्य नेपालमा करिब ५५ लाख पर्छ । यस्तो गाडीमा १० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट गरी एउटा गाडीमा करिब साढे १२ लाख राजस्व लाग्छ ।

१५० वटा एमजीको कार काठमाडौंको पारामाउन्ट मोटर्सले भित्र्याएको छ । डेढ सय गाडी भित्रिएपछि करिब पौने १९ करोड राजस्व संकलन भएको उनले बताए । त्यसै गरी बन्दरगाहमा सोमबारसम्म ७० वटा थप कार होल्ड भएर बसेको जनाइएको छ । जसमा ५५ वटा कोरियन ब्रान्डका छन् ।

५० वटा डिजेलबाट चल्ने सवारीसाधन र १५ वटा एमजी ९डिजेलबाट चल्ने० कारहरू तथा ६ वटा गैरकानुनी किसिमले भित्र्याइएका गाडी छन् ।

काठमाडौंको वेस्टार ग्यालेक्सीले बेलायतबाट मगाएको एक टेस्ला, किशोर गियर प्रालिले बेलायतबाट मगाएको २ वटा ज्यागुआर र प्रिन्सा मोटर्सले अमेरिकाबाट मगाएको ३ वटा आउडी कार करिब १० महिनादेखि थन्किएका छन् । आयातकर्ताले आवश्यक कागजात भन्सार कार्यालयमा नबुझाउँदा ती विलासी कारको जाँचपास हुन सकेको छैन ।

यसअघि प्रिन्सा मोटर्सले ३ वटा आउडी कार मगाएर बेचेको छ भने किशोर गियरले पनि ६ वटा ज्यागुआर ल्याएर बिक्री गरिसकेको छ । लकडाउनमा गाडीको बिक्री घटेको र बैंकिङ कारोबार गर्न असहज भएको भन्दै गाडी नछुटाउनेहरू राजस्व वृद्धि हुने अनुमानअनुसार धमाधम गाडी छुटाउन लागेका हुन् ।

भन्सार महसुल, अन्तःशुल्क र भ्याट गरी कुल २२० देखि २९० प्रतिशतसम्म कारको क्षमता हेरेर राजस्व लाग्ने गर्छ । वीरगन्ज भन्सार नाकाको शंकराचार्य र आईसीपी नाकामा गरी कुल ५ सय ४४ वटा सवारीसाधन होल्ड भएकोमा केही सातायता विभिन्न प्रकारका गाडी छुटाउने क्रम बढेको छ ।

शंकराचार्य भन्सारमा २ सय र आईसीपीमा ३४४ वटा गाडी थन्केको वीरगन्ज भन्सारका सूचना अधिकारी विमलकुमार साहले जानकारी दिए । उनका अनुसार होल्ड भएका गाडीहरूमा कार, जिप भ्यान, माइक्रो, बस, ट्रक, लरीलगायत छन् ।

विशेष गरी सिप्रदीले आयात गरेको टाटाका सवारीसाधन, अग्नि समूहले भित्र्याएको महिन्द्रा ब्रान्डका गाडी, सीजी समूहले भित्र्याएका मारुती सुजुकी, टोयाटा र फोर्ड कम्पनीका गाडी होल्ड भएका छन् । अग्नि समूहले पनि केही गाडी भन्सारबाट छुटाएको छ । केही परियोजनाका लागि कमिटमेन्ट गरिएका गाडी कम्पनीले जाँच पास गरेर ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung