
बागलुङमा बुधबार ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनीहरूको स्वाब नमुना परीक्षणमा कोरोना संक्रमण देखिएको हो ।
बडिगाड गाउँपालिकाको त्रिभुवन मावि क्वारेन्टाइनमा रहेका दुई र तमानखोला गाउँपालिकाको धनगौज्योति माविको क्वारेन्टाइनमा रहेका चार जनामा कोरोना भएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला स्रोतले जनाएको छ ।
धनगौज्योति माविमा ४ जनामा संक्रमण देखिएपछि उपचारका लागि धौलागिरि अस्पताल बागलुङ पठाउने तयारी भइरहेको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।
बडीगाडका दुई जनालाई पनि धौलागिरि अस्पताल ल्याउन एम्बुलेन्स तयारी अवस्थामा रहेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए । यद्यपि संक्रमणबारे प्रतिष्ठानका प्रवक्ताले पुष्टि गरिसकेका छैनन् ।
बागलुङबाट बुधबार पठाइएका ९२ स्वाब नमुनामध्ये केहीको मात्रै रिपोर्ट आएको र ६ जनामा संक्रमण देखा परेको स्रोतले जनाएको छ । संक्रमित भेटिएको खबरसँगै उपचारका लागि धौलागिरि अस्पतालले आवश्यक तयारी थालेको छ ।
‘हामीलाई तयारी गर्नू भनेपछि तयारी थालेका छौं’ अस्पतालका प्रमुख डा शैलेन्द्र बिक पोखरेलले भने, ‘संख्याको विषयमा जानकारी आएको छैन ।’ बागलुङमा झन्डै ४ सय जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन् । उनीहरूमध्ये केहीको मात्रै कोरोना जाँच भएको छ ।