
नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
बिहीबारसम्म १ हजार ४२ जनामा कोरोना पुष्टि भएको थियो । प्रवक्ता देवकोटाका अनुसार कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका २७ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
यस्तै धरानमा भएको परीक्षणमा सप्तरीका ४ सहित ५ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ३ र पर्साका ५ गरी ९ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा १ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
यस्तै गण्डकी अस्पतालमा गरिएको परीक्षणमा म्याग्दीका १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ र नवलपरासीका २ सहित ६ जनामा पोजिटिभ देखिएको छ ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जनामा पोजिटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनामा पोजेटिभ देखिएको छ ।
पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३८ गरी अहिलेसम्म ६४ हजार १ सय ५४ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडीटी १ लाख ५ हजार ४ सय ७८ जनाको गरिएको छ ।
यस्तै पछिल्लोचोटि १९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ सय ६ पुगेको छ । यस्तै ६ जनाको मृत्यु भएको छ ।