कोरोना महामारीबीच स्ट्रिप क्लब अर्थात् वयस्कहरूलाई मात्रै अनुमति दिइने मनोरञ्जनस्थल र वेश्यालयहरू बन्द भएसँगै विश्वभरिका यौनकर्मीको आम्दानीको स्रोत ठप्प भएको छ। जीविकोपार्जनका साथै स्वास्थ्यबारे चिन्तित कतिपय यौनकर्मीले अनलाइनमार्फत व्यवसायलाई जारी राख्न चाहिरहेका छन् भने कतिपयले आर्थिक सहयोगको मुख ताक्नुपरेको छ।
इस्टल ल्युकासले अस्ट्रेलियाको मेल्बर्नमा १० वर्षदेखि काम गरिरहेकी छन् र आफ्ना ग्राहकहरूसँग सावधानीपूर्वक सम्बन्ध बनाएकी छन्। ‘तर कोभिड–१९ सङ्क्रमण र सामाजिक दूरी कायम राख्नुपर्ने नियमका कारण यौन व्यवसायमा रोक लागिसकेको छ।
स्पष्ट रूपमा भन्नुपर्दा मैले छ महिनासम्म काम गरिनँ भने धेरै मानिसले मलाई बिर्सनेछन्,’ उनी भन्छिन्, ‘म आफ्ना ग्राहकहरूसँग कुरा मात्र गर्न सक्छु। यसले यो व्यवसायमा काम गर्दैन।
हामीले अन्तरङ्ग सम्बन्ध कायम गर्नुपर्छ जुन अहिलेको अवस्थामा सम्भव छैन।’ कोरोना महामारी सुरु हुनुअघि इस्टलले औसतभन्दा बढी आम्दानी गर्थिन् ।
मेल्बर्नको बाहिरी भेगमा रहेको घरको बन्धकीबापतको रकम छिट्टै तिरिसक्ने उनको आशा थियो । आम्दानीका लगभग सबै स्रोत सुकेपछि उनले अहिले अनलाइनमार्फत व्यवसाय अगाडि बढाउने प्रयत्न गरेकी छन् । तर भन्छिन्, ‘शारीरिक सम्पर्कलाई त्यसले विस्थापित गर्न सक्दैन।
मैले अनलाइनमार्फत् प्रयास गरेकी छु तर सबैलाई प्राविधिक ज्ञान हुँदैन। मेरा कतिपय ग्राहकलाई स्मार्टफोन कसरी प्रयोग गर्ने भन्ने कुरा थाहा छैन।’
क्षेत्रीय सरकारले रेस्टुराँ र क्याफेहरू खोल्नेबारे योजना ल्याए पनि यौन–उद्योगबारे कुनै योजना छैन। अनिश्चय र भाइरसलगायत कारणले यौनकर्मीहरू गम्भीर तनावमा परेका छन्।
कोभिड–१९ का कारण रोजगारी गुमाउनेका लागि अस्ट्रेलिया सरकारले आर्थिक सहायता उपलब्ध गराउन सक्छ । तर त्यसका लागि सम्बन्धित पक्षले कर तिर्दै आएको प्रमाणित गर्नुपर्छ जुन कुरा दर्ता नभएका कतिपय यौनकर्मी र आप्रवासीले गर्न कठिन छ।
यो विश्वका दर्जनौँ देशका यौनकर्मीले सामना गरिरहेको समस्या रहेको लेस्टर विश्वविद्यालयस्थित अपराधशास्त्रकी प्राध्यापक टिला स्यान्डर्स बताउँछिन्।
‘सरकारहरूले अधिकांश मानिसलाई खास गरी आफ्नै उद्यममा लागेकालाई राम्रोसँग सामाजिक सुरक्षा प्रदान गरिरहेका छन्, तर त्यसभित्र यौनकर्मीहरू समावेश छैनन्,’ उनी भन्छिन्।













































































































































































































