४ जेष्ठ २०८१, शुक्रबार

 

विदेशबाट उद्धार गरिने नेपालीलाई ल्याउन चौबर भाडा

कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीलाई सरकारले उद्धार गरेर ल्याउँदा सामान्य समयको भन्दा चार गुणासम्म बढी भाडा पर्ने देखिएको छ ।

सरकारले तोकेको २८ देशको हवाई भाडा न्यूनतम १९ हजार ८ सयदेखि १ लाख ६२ हजारसम्म छ । सबैभन्दा कम बंगलादेशको र सबैभन्दा बढी भाडा बेलायतको छ ।

बेलायतको हवाई भाडा १ लाख ६२ हजार र बंगलादेशको १९ हजार ८ सय तोकिएको हो । विदेशमा अपलत्र परेकालाई हवाई चार्टर गर्दा भाडा महँगो पर्ने देखिएपछि मन्त्रालयले एकरूपताका लागि भाडादर निर्धारण गरेको नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले बताए ।

सरकारले जेठ ३२ देखि असार १४ सम्ममा विदेशमा समस्यामा परेका करिब २५ हजार नेपाली कामदारलाई उद्धार गरिसक्ने निर्णय गरेको छ ।

अहिले सरकारले विदेशमा अप्ठ्यारोमा परेका नागरिकलाई फिर्ता ल्याउन भनेको छ । परराष्ट्र सचिव शंकर वैरागीले विदेशबाट स्वदेश फर्कन चाहनेको सूची लामो भए पनि १२ हजारलाई तत्काल उद्धार गर्नुपर्ने देखिएको बताए ।

‘अहिले हाम्रो प्राथमिकतामा तत्काल स्वदेश नफर्काई नहुने १२ हजार रहेका छन्,’ उनेल भने, ‘हामी विस्तारै अन्यलाई पनि स्वदेश फर्काउने तयारीमा छौं ।’

विदेशमा अलपत्र परेका नेपालीलाई काठमाडौंसम्म ल्याउन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई चार्टर फ्लाइटको जिम्मा दिइएको छ ।

नेपाली दूतावासहरूले विभिन्न देशबाट चार्टर भाडादर तोकेर नै सूचना निकाल्न थालेका छन् । अहिले सरकार र सर्वोच्च अदालतले समेत विदेशी मुलुकमा अप्ठ्यारोमा परेका नागरिकहरूलाई फिर्ता ल्याउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्