अहिलेसम्मकै सर्वाधिक ठूलो तान्जानाइट नामक बहुमूल्य रत्न फेला पारेका तान्जानियाका एक सामान्य नागरिक रातारात करोडपति बनेका छन् । १५ किलो तौल भएका दुईवटा पत्थर फेला पारेका सानिनिउ लाइजरले त्यहाँको खानी मन्त्रालयबाट ४१ करोड नेपाली रुपैयाँबराबरको रकम प्राप्त गरेका हुन्।
तान्जानाइट पत्थर उत्तरी तान्जानियामा मात्रै पाइन्छ र यो गहना बनाउन प्रयोग हुन्छ। यो पृथ्वीमा पाइने दुर्लभ रत्नहरूमध्ये एक हो। एक स्थानीय भूवैज्ञानिकले यसको आपूर्ति आगामी २० वर्षभित्र समाप्त हुने अनुमान गरेका छन्।
यो पत्थरलाई हरियो, रातो, बैजनी र नीलो रङको विविधताका कारण विशेष मानिन्छ। यसको मूल्य रङको दुर्लभताको आधारमा निर्धारण गरिन्छ। जति राम्रो रंग र सफा छ, मूल्य त्यति नै बढी हुन्छ।
लाइजरले गत साता ९.२ र ५.८ किलोग्राम वजनका दुई पत्थर खानीमा फेला पारेका थिए । उनले बुधबार लाग्ने बजारमा त्यो बेचेका थिए। यसअघिसम्म सबैभन्दा ठूलो तान्जानाइटको तौल ३।३ किलोग्राम थियो ।
राष्ट्रपति जोन मागुफुलीले फोन गरेर लाइजरलाई बधाई दिएका छन् । ‘यो सानो स्तरमा खानी खोज्नेहरूको फाइदा हो र यसले तान्जानिया कति धनी छ भन्ने प्रमाणित गर्छ,’ राष्ट्रपतिले भनेका छन् ।
सन् २०१५ मा मागुफुली खानीमा राज्यको हितको रक्षा गर्ने र यसबाट देशको आम्दानी बढाउने नाराका साथ विजयी भएका थिए। करोडपति बनेका ५२ वर्षीय लाइजर खानीमा रत्न र बहुमूल्य पत्थर खोज्ने काम गर्छन्। उनका चारवटी श्रीमती र ३० सन्तान छन् ।
यो रकमबाट उनले आफ्नो समुदायका लागि पनि लगानी गर्ने बताएका छन्। ‘म आफ्नो घरनजिकै विद्यालय बनाउन चाहन्छु। यहाँ आफ्ना छोराछोरी विद्यालय पठाउन खर्च गर्न नसक्ने धेरै गरिब मानिसहरू छन्,’ उनले भने, ‘म शिक्षित छैन तर मलाई व्यावसायिक रूपमा काम गरेको मन पर्छ।
त्यसैले म मेरा बालबच्चाले व्यवसाय गरून् भन्ने चाहन्छु।’ उनले नयाँ धनले आफ्नो जीवन परिवर्तन नहुने, आफू पहिल्यैदेखि रहेका २ हजार गाईकै हेरचाह गरेर बस्ने बताए ।













































































































































































































