२३ बैशाख २०८१, आईतवार

 

धौलागिरि अस्पतालका थप दुई स्वास्थ्यकर्मीमा कोरोना, आकस्मिकबाहेकका सेवा बन्द

कोरोना संक्रमण फैलिएसँगै धौलागिरि अस्पताल बागलुङमा इमर्जेन्सीबाहेक अन्य सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत थप दुई स्वास्थ्यकर्मीलाई सोमबार कोरोना संक्रमण देखिएपछि मंगलबार विज्ञप्ति प्रकाशित गर्दै अस्पतालले आकस्मिकबाहेकका सेवा बन्द गरिएको जनाएको छ।

सोमबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा अस्पतालका ३९ वर्षीय पुरुष र २२ वर्षीया महिला स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएको हो ।

अस्पतालले संक्रमित स्वास्थ्यकर्मीहरू अस्पतालका प्यारामेडिक्स (एचए) र स्टाफ नर्स रहेको जनाएको छ । साउन २० गते धौलागिरि बहुमुखी क्याम्पसमा राखिएको आइसोलेसनमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका र अस्पतालमा कार्यरत ३२ जनाको पीसीआर परीक्षण गर्दा दुई जनालाई पोजिटिभ देखिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले बताए ।

उनका अनुसार सोमबार संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीको सम्पर्कमा आएका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको कोभिड–१९ परीक्षण गर्नुपर्ने भएकाले अर्को सूचना नभएसम्मका लागि आकस्मिकबाहेकका सेवा बन्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्