५ जेष्ठ २०८१, शनिबार

 

बागलुङ नगरको फोहोर उठाउने सहकारीसँगको सम्झौता रद्द, कानुनी उपचार खोज्दै सहकारी

बागलुङ नगरपालिकाले बजार क्षेत्रको फोहोर संकलनको जिम्मा दिएको सरसफाइ सहकारीसँगको सम्झौता रद्द गरेको छ ।नगरपालिकाले २०७२ सालमा धौलागिरि फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थामार्फत फोहोर संकलन तथा व्यवस्थापन गर्ने सम्झौता गरेको थियो ।

तर, संस्थाले सम्झौताअनुसार नियमित फोहोर संकलन नगरेको भन्दै नगर कार्यपालिकाको साउन ३२ गते बसेको बैठकले सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।

‘सुरुमा लकडाउन हुँदादेखि नै फोहोर उठाउने काम राम्रोसँग हुन सकेन । धेरै गुनासो आयो, सम्झौताअनुसार डम्पिङ साइटसमेत व्यवस्थित भएन,’ बागलुङ नगरप्रमुख जनकराज पौडेलले नयाँ विश्वलाई भने, ‘कुहिने र नकुहिने फोहोर संकलन तथा व्यवस्थापन छुट्टा–छुट्टै गर्नुपर्नेमा संस्थाले नगरेका कारण अबदेखि नगरपालिकाले नै फोहोर संकलन गर्ने गरी अगाडि बढेका छौं ।’

फोहोर संकलन गर्ने दुईवटा गाडी र कर्मचारी फोहर मैला सहकारीबाट नगरपालिकाले फिर्ता लगेको छ । नगरले एउटा ट्रिपर किनेर आफैं व्यवस्थापन गर्न लागेको नगरप्रमुख पौडेलले जानकारी दिए ।

‘हामीसँगको सम्झौता बाकी रहेकै बेला नगरपालिकाले एक पक्षिय रुपमा सम्झौता खारेज गरेको छ र्। नगरपालिकाले लकडाउन जस्तो विशेष परिस्थितिमा पनि सवारीसाधन मर्मत नगर्दा समयमै फोहोर उठाउन नसकिएको’ धौलागिरि फोहर व्यवस्थापन सहकारीको अध्यक्ष सुधिर श्रेष्ठले नयाँ विश्वलाई बताए । पछिल्लो ६ महिनादेखि सहकारीकै ट्रिपरमार्फत फोहोर उठाउँदै आएको संस्थाका अध्यक्ष सुधीर श्रेष्ठले बताए ।

‘फोहर व्यवस्थापन, सम्झौता अनुसार अरु काम पनि अगाडि बढाउन लागेका थियौ,’ उनले भने,हामीले काम गरिरहेकै थियौ, नगरवासीको फोहोर नउठेको गुनासो थिएन ।’

‘नगरपालिकाले सम्झौता अवधि कायम रहेको बेला आग्रह राखेर एकपक्षिय रुपमा हामीसँग सम्झौता तोडेको हुनाले हामीले उपभोक्ताहरुको सेवा र अधिकारलाई मध्यनजर गरी यसको कानुनी उपचार खोज्ने  र उपभोक्ताहरुलाई अझ प्रभावकारी सेवा दिने ’ धौलागिरि फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारीका अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्