५ जेष्ठ २०८१, शनिबार

 

पहिरोले बुर्तिवाङ–निसी सडक थुनिएको थुनियै

मध्यपहाडी लोकमार्गको बुर्तिवाङ–निसी खण्ड वर्षा र पहिरोका कारण निरन्तरजसो अवरुद्ध हुन थालेको छ । यसले गर्दा यात्रुले सास्ती बेहोर्नुका साथै जोखिमपूर्वक यात्रा गर्नुपरेको छ ।

दैनिकजसो पहिरो जाने र ठाडो खोलामा आउने बाढीले लोकमार्ग अवरुद्ध हुने गरेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । वैकल्पिक मार्ग नभएका कारण स्थानीयले सास्ती खेप्नुपरेको उनको भनाइ छ ।

‘लोकमार्गको खाडुमा ठाडो खोलामा आउने बाढीले देवीस्थानदेखि झिवाखोलाबीच दैनिकजसो पहिरो खसिरहेका कारण यात्रुले हदैसम्म समस्या बेहोर्नुपरिरहेको छ,’ उनले भने ।

मध्यपहाडी लोकमार्ग आयोजना र निसीखोला गाउँपालिकाको समन्वयमा पटकपटक सडक सरसफाइ गरे पनि फेरि अवरुद्ध हुने गरेको छ । पाखुते–झिम्पा, निसी जोड्ने वैकल्पिक सडकको थप स्तरोन्नति नभएका कारण त्यहाँ सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।

सांसद देवेन्द्र पौडेललाई समेत उक्त सडक स्तरोन्नतिका निम्ति केन्द्र सरकारसमक्ष पहल गरीदिन आग्रह गरे पनि स्थानीयको माग सुनुवाइ भएको छैन ।

उता गाउँपालिकाका दर्जनौँ घर पहिरोको जोखिममा पर्नुका साथै खाडुमा ७ घर भत्किसकेका छन् । ती घरका बासिन्दा विस्थापित भएका छन् । अन्य क्षेत्रमा समेत त्यस्तै समस्या छ । विपद् व्यवस्थापन समितिको बैठक बसेर प्रत्येक वडालाई पत्राचार गरिएको छ । वडामा भएको क्षतिको तथ्यांक, मुचुल्का तयार गरिने र सबै रिपोर्ट आएपछि जिल्ला विपद् व्यवस्थापनमा सुम्पिने गरी तयारी भइरहेको छ ।

यसैबीच भल–पहिरोका कारण ढोरपाटन नगरपालिका २ रिनाममा आधा दर्जन घर पहिरोको जोखिममा रहेका छन् । गएराति घरमाथिदेखि आएको पहिरोले चार परिवार विस्थापित बनेका छन् ।

मानास्वर खनालको बारीदेखि बगेको भेल–पहिरोका कारण चिन्तामणि चालिसे, प्रेमलाल खनाल, मीना पुन, उद्धवलाल खनाल र सोभाखर खनालको घर जोखिममा परेको स्थानीय चूडामणि जैसीले बताए ।

उक्त पहिरोले मकै, कोदोलगायत खेती–बालीमा समेत क्षति पु¥याएको छ । त्यसै गरी स्थानीय नवज्योति प्राविको खेलमैदानमा पहिरो जाँदा विद्यालयसमेत जोखिममा छ । सोही पहिरोका कारण कौरबहादुर सार्कीको घरमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्