५ जेष्ठ २०८१, शनिबार

 

बागलुङ बजारमा वितरण हुने खानेपानीको नमुना परीक्षण हुने

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने नेतृत्वको टोलीले बागलुङ बजारको खानेपानी मुहान अनुगमन गरेको छ । उपभोक्ताले पिउने पानी फोहर भएको गुनासो आएपछि प्राविधिकसहितको टोलीले रेश र भुँदी खोलाको मुहान अनुगमन गरेको हो ।

खोलाको पानी बाँध बाँधेर सिधै बजारमा ल्याइएको रहेछ । ‘बर्खामा पानी फोहर आउने कारण यही रहेछ । नगर खानेपानी संस्थाले खोलाको पानी शुद्धीकरण गर्ने काम गरेको रहेनछ,’ प्रजिअ न्यौपानेले नयाँ विश्वलाई भने, ‘हामीले ट्रिटमेन्ट प्लान पनि हे¥यौं, त्यसको खासै उपयोग भएको पाएनौं, प्राविधिक टोलीलाई पानीको नमुना संकलन गरेर यसको समाधानको उपाय सुझाउन भनेका छौं ।’

खानेपानी व्यवस्थापनका लागि खानेपानी डिभिजन कार्यालयका इन्जिनियर विक्रम प्रसाद शाहको संयोजकत्वमा प्राविधिक कार्यदल गठन पनि गरिएको छ । जसमा जिल्ला प्रशासन कार्यालय, नगरपालिकाका इन्जिनियर र खानेपानीका प्रतिनिधि छन् । अनुगमन टोलीले विभिन्न मुहानको पानीको नमुना संकलन पनि गरेको छ ।

प्रजिअ न्यौपानेले अहिलेको खानेपानीको अवस्था र त्यसको समाधानाको विषयमा प्रतिवेदन दिन प्राविधिक टोलीलाई निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धीरेन्द्र पन्तले बताए । बागलुङ बजारमा आउने पानी लामो समयदेखि फोहर रहेको र उपभोक्ताको गुनासो बढेपछि प्रशासनले सक्रियता देखाएको हो ।

टोलीमा प्रदेशसभा सांसद इन्द्रलाल सापकोटा, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठको उपस्थिति थियो । उच्च अदालत पोखरा बागलुङ इजलासमा खानेपानीको विषयमा मुद्दा समेत परेको छ ।
अनुगमनमा गएका प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले भने पानीको शुद्धता नापजाँच पछि थाहा हुने बताए । ‘यद्यपि मैले रातमाटाको ट्यांकीलाई हेर्दाचाहिँ बागलुङ बजारमा फोहोर पानि जाँदैनजस्तो लाग्छ, हामीले तीन ठाउँको पानीको नमुना लिएर परीक्षण गर्न पठाएका छौं,’ उनले भने । बागलुङ नगरवासीले शुद्ध पानी नपाएको महिनौं बितिसकेको छ ।

पानी फोहर भएको बारे नागरिक समाजले ध्यानाकर्षण गराउँदा यसअघि पनि प्रजिअको टोली दुईपटक मुहानमा गएर शुद्ध पानी आपूर्ति गर्न निर्देशन दिएको थियो ।

पछिल्लो समय अधिवक्ता रमेश खड्काले उच्च अदालत पोखरा बागलुङ इजलासमा सफा शुद्ध खानेपानीको माग राखी निवेदन दिएका थिए । अदालतले एक हप्ताभित्र शुद्ध–सफा पानी खुवाउन आदेश जारी गरेको थियो ।

अनुगमन टोलीले वुधबार ५ ठाउँबाट नमुना संकलन गरी त्यसको परीक्षण गर्न धौलागिरि अस्पतालमा पठाइएको जनाएको छ । रिपोर्ट प्राप्त भएपछि अदालतमा प्रतिवेदन दिने स्रोतले बतायो ।

दुई वर्षपहिले पनि एक उपभोक्ताले शुद्ध खानेपानीका लागि अदालतको ढोका घचघच्याएका थिए । त्यस निवेदनमा पनि संस्थाको नाममा परमादेशको आदेश जारी भएको थियो ।

तस्वीर : अर्जुन ढकाल

प्रतिक्रिया दिनुहोस्