हिमाल आरोहण गर्न आएका बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खालिफासहितको टोली बिहीबार सोलुखुम्बुको लुक्ला पुगेको छ ।
यहाँ आएर सात दिन क्वारेन्टाइनमा बिताएका उनी बुधबारै लुक्ला जाने तय भएकोमा मौसममा खराबीका कारण बिहीबार गएका हुन् । सोलुखुम्बुको लोबुचे हिमाल आरोहण गरी उनी त्यहाँबाट गोरखाको मनास्लु हिमाल आरोहणमा जानेछन् ।
सगरमाथा आरोहणको तयारीस्वरूप राजकुमारले पहिलो चरणमा साना दुई हिमाल आरोहण गर्न लागेका हुन् । राजकुमार खालिफासँगै बहराइनका १५ र तीन जना बेलायती नागरिक छन् ।
राजकुमारसहितका ५ जना कैलास हेलिकप्टरबाट लुक्ला गएका हुन् । टोलीका अन्य सदस्य, गाइड तथा सहयोगी भने दुईवटा जहाजबाट लुक्ला पुगेका छन् ।
















































































































































































