५ जेष्ठ २०८१, शनिबार

 

बागलुङमा ४ वर्षीय बालकसहित थप ३१ जनामा कोरोना पुष्टि

बागलुङ जिल्लाका चार पालिकामा थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा गल्कोट नगरपालिकाका १४ जना, काठेखोला गाउँपालिकाका १० जना, जैमिनी नगरपालिकाका २ जना र बागलुङ नगरपालिकाका ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएकाे हो ।

संक्रमित मध्ये बागलुङ नगरपालिकाका एक जना समुदायस्तरका हुनभने अन्य जापान, क्यानडा, दुबई, ओमन र भारतदेखि आई क्वारेन्टाइनमा बसिरहेका थिए । यस्तै, गल्कोट नगरपालिका–३ का ४ वर्षीय बालक, २० वर्षीय पुरुष, १९ वर्षीय पुरुष, ५९ वर्षीय पुरुष, ५१ वर्षीय पुरुष, ३९ वर्षीय पुरुष, ७७ वर्षीय पुरुष र ७७ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको छ ।

नगरपालिकाको वडा नम्बर १ का ४७ वर्षीय पुरुष, वडा नम्बर ४ की ६९ वर्षीय महिला, वडा नम्बर ५ का २१ र २२ वर्षीय दुई पुरुष र वडा नम्बर ६ का ३५ र ५२ वर्षीय दुई पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको घिमिरेले जानकारी दिए । गलकोटका संक्रमित मध्ये तीन जना जापान, दुई जना दुबई, एक जना क्यानडा, एक जना ओमनदेखि आएर होम क्वारेन्टाइनमा बसिरहेका थिए ।

यस्तै, काठेखोला गाउँपालिकामा भारतदेखि आइ क्वारेन्टाइनमा बसेका वडा नम्बर ४ का ५२, ४१, ५२, ५७, २८ र २२ वर्षीय ६ पुरुष, वडा नम्बर ३ का ४१ वर्षीय दुई पुरुष, वडा नम्बर ७ का ४५ वर्षीय पुरुष, वडा नम्बर ८ का ४१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको क्षयरोग, कुष्ठरोग निरीक्षक देविप्रकाश घिमिरेले बताए ।

यस्तै, बागलुङ नगरपालिका–१० का ४३ वर्षीय पुरुष, वडा नम्बर ६ का ५२ र ४० वर्षीय पुरुष, वडा नम्बर २ का २२ वर्षीय पुरुष र वडा नम्बर ३ का २८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये बानपा–६ का ५२ वर्षीय पुरुष समुदायका रहेको र अन्य भारतदेखि आई क्वारेन्टाइनमा बसेको बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । समुदायका संक्रमित होम क्वारेन्टाइनमा बसिरहेको प्रमुख खनालको भनाइ छ ।

यस्तै, जैमिनी नगरपालिका वडा नम्बर १ का ४० वर्षीय पुरुष र वडा नम्बर ५ का २२ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनीहरु पनि भारतदेखि आई क्वारेन्टाइन बसिरहेका थिए ।

जैमिनी र काठेखोला गाउँपालिकाका संक्रमितलाई धौलागिरि अस्पताल बागलुङको आइसोलेसन कक्षमा, बागलुङ नगरपालिकाका बानपा–१ बाङ्गेचौरमा रहेको धौलागिरि बहिरा आवासिय माध्यमिक विद्यालयको आइसोलेसन कक्षमा र गल्कोट नगरपालिकाका संक्रमितलाई गलकोट नगरपालिकाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्