२३ बैशाख २०८१, आईतवार

 

प्रधानमन्त्री सचिवालयका ४ जनामा कोरोना पुष्टि

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका ४ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि प्रधानमन्त्री सचिवालयका फोटो पत्रकार राजन काफ्लेले पनि आफूलाई कोरोना संक्रमण भएको शनिबार बिहान जानकारी गराएका थिए ।

शुक्रबार गरिएको पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको भन्दै रिमाल र थापाले दुवैले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । सल्लाहकारद्वयले आफूसँग केही दिन यता सम्पर्कमा रहेका व्यक्तिहरुलाई सचेत रहन समेत आग्रह गरेका छन् ।

‘हिजोको पिसिआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु’, रिमालले फेसबुकमा लेखेका छन् ।

त्यसैगरी, प्रेस सल्लाहकार थापाले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत सोही भाषामा कोरोना पोजेटिभ देखिएकाले आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई सचेत रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्