कोरोना संक्रमणको जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय बागलुङले यात्रुवाहक गाडीहरूको अनुगमन सुरु गरेको छ । दसैंतिहार नजिकिँदै गर्दा बस, माइक्रो र जिपहरूले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरे,नगरेको र तोकिएको भाडादर कायम गरे,नगरेको अनुगमन गर्न थालिएको प्रजिअ सुरेश न्यौपानेले बताए ।
आजदेखि सुरु गरिएको अवलोकन र निरीक्षणलाई निरन्तरता दिनुका साथै कोरोना रोकथाम तथा नियन्त्रणको कार्य पनि अगाडि बढाइएको सहायक प्रजिअ उपेन्द्रराज पौडेलले जानकारी दिए ।
पहिलो दिन बागलुङ नगरपालिका–१ मालढुंगामा यात्रुवाहक बसहरूको अनुगमन गरिएको छ । बागलुङ उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले उपभोक्ताहरू यात्राका क्रममा नठगिउन् र स्वास्थ्य–सुरक्षा मापदण्ड पनि लागू होस् भनेर अनुगमन गरिएको बताए ।
यात्रुहरुको स्वास्थ्य सुरक्षामा कुनै समस्या उपन्न नहोस र बागलुङ जिल्लामा चाडपर्वको बेला कोरोना नफैलियोस भनेर अनुगमन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । प्रजिअ न्यौपानेले जोखिम मोलेर बसभित्र यात्रुहरुको अवस्थाको बारेमा जानकारी लिएका थिए ।
जिल्ला प्रशासनले दसैं नजिक आउँदै गर्दा किराना पसलहरूको अनुगमनसमेत सुरु गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धीरेन्द्रराज पन्तले बताए ।
तस्वीर :अर्जुन ढकाल
















































































































































































