५ जेष्ठ २०८१, शनिबार

 

शनिबार ५ हजार ८ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित प्रेस बिफिङमा यस्तो जानकारी गराएका हुन् ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ८१८ रहेको छ । यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ थियो ।

पछिल्लो २४ घण्टामा थप १,२२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७४ हजार२५२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ रहेको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्