
चीनका अति धनाढ्यको सूचीमा रहेका अर्बपतिहरूले सन् २०२० मा १.४ ट्रिलियन अमेरिकी डलर थप कमाएका छन् । हुरुन नामक चिनियाँ वार्षिक समृद्धि सूचीमा मंगलबार उल्लेख गरिएअनुसार उक्त रकम उनीहरूले बितेका पाँच वर्षमा गरेको मुनाफाभन्दा बढी हो ।
ई–कमर्स र भिडियो खेलहरूमा महामारीको समयमा व्यापक आकर्षण बढेको र यसका कारण चिनियाँ धनाढ्यलाई थप धन आर्जनको अवसर मिलेको उक्त अनुसन्धानले देखाएको छ ।
अगस्टसम्ममा विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा अर्बपतिहरूको समूहमा थप २ सय ५७ व्यक्ति सामेल भएको हुरुन रिपोर्टले देखाएको छ । अध्ययनअनुसार चीनमा हाल ८ सय ७८ व्यक्ति अति धनाढ्य अर्बपतिको सूचीमा छन् । सन् २०२० को सुरु अर्थात् फेब्रुअरीमा अमेरिकामा ६ सय २६ व्यक्ति अर्बपतिमा सूचीकृत हुनुका साथै विश्वका धेरै धनी व्यक्तिहरूको समूहमा अमेरिका नै अग्रस्थानमा थियो । चीनमा यो वर्षको अगस्टसम्ममा दुई हजारभन्दा बढी अर्बपति थपिएका छन् । उनीहरूसँग २ अर्ब चिनियाँ युआन अर्थात् ३० करोड अमेरिकी डलरबराबरको सम्पत्ति छ । समग्रमा उनीहरूले चार ट्रिलियन अमेरिकी डलर मुनाफा कमाएका थिए ।
प्रसिद्ध चिनियाँ ई–कमर्स सेवा अलिबाबाका संस्थापक ज्याक माले यो वर्ष ४५ प्रतिशतभन्दा बढी सम्पत्ति आर्जन गरेको प्रक्षेपण गरिएको छ । यो अनलाइन व्यापार कम्पनीका मालिक ज्याकले यो वर्ष अनलाइन व्यापारबाट मात्रै ५८.८ अर्ब सम्पत्ति जोडेको उल्लेख छ । अनलाइन भिडियो खेलका मालिक पोनी मा तथा विच्याटका मालिक टेन्सेन्टलेले अमेरिकी प्रतिबन्धको चेतावनीका बीच पनि थप ५० प्रतिशत अर्थात् ५७.४ अर्ब अमेरिकी डलर आर्जन गर्दै ज्याक मालाई पछ्याएका छन् ।
चिनियाँ बोतलको ‘ब्रान्डेड पानी’ नोङ्फुका संस्थापक ६६ वर्षीय झोङ साङसान ५३.७ अर्ब अमेरिकी डलर अर्थोपार्जन गरी चिनियाँ अति धनाढ्यको सूचीमा तेस्रो स्थानमा पर्न सफल भएका छन् । ‘विश्वले यति धेरै सम्पत्ति केवल एक वर्षमा आर्जन गरेको देखेको छैन,’ हुरुन रिपोर्टका प्रमुख अनुसन्धाता रुपर्ट हुगेवर्फले विज्ञप्तिमा भनेका छन् । यस वर्षको सूचीले चीन निर्माण र घर जग्गाजस्ता ‘परम्परागत क्षेत्रहरू’बाट नयाँ अर्थतन्त्रतर्फ गइरहेको देखिएको उनले बताए ।
खाद्य सामग्री वितरण सेवा मेतुआनका संस्थापक वाङ सिंगले आफ्नो सम्पत्ति चार गुणा बढाएर २५ अर्ब डलरका साथ सूचीमा ५२औं स्थानबाट १३ औं स्थानमा पुगेका छन् । अनलाइन सपिङ सञ्जाल जेडी डटकमका संस्थापक रिचार्ड लियु आफ्नो पैसाको दोब्बर २३.५ अर्ब डलर कमाउन सफल भएका छन् ।
माथि उल्लिखित कम्पनी तथा व्यवसायीबाहेक चीनमा खास गरी कोभिड–१९ विरुद्धको खोप उत्पादनमा काम गरिरहेका औषधि तथा चिकित्सकीय सामग्री उत्पादक कम्पनीहरूले पनि उल्लेख्य लाभ लिएको प्रतिवेदनमा उल्लेख छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले संक्रमण नियन्त्रणमा रहेको देखिएपछि यस वर्ष अर्थव्यवस्था विस्तार हुने एक मात्र प्रमुख मुलुक चीन बन्ने बाटोमा रहेको जनाएको छ ।