नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजेलाई निर्धारण गरेको छ । मंसिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित मुहूर्तको शुभसाइत दिइएको छ ।
राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्ने तर सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा। डा रामचन्द्र गौतमले बताए । यस वर्ष यमपञ्चक कात्तिक २७ देखि सुरु हुन्छ ।
त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । कात्तिक २८ गते कागतिहार परेको छ । यसैगरी धन्वन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ । कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्णचतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ ।
सायंकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ । गाई, गोरु र आत्म ९म्ह० पूजा भने कात्तिक ३० गते गर्नुपर्ने शास्त्रीय वचन छ ।
कार्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्मपूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । आइतबार बिहान ११ः२७ बजेसम्म औँसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ ।
म्हपूजा विशेष गरी नेवार समुदायले गर्ने परम्परा छ । समितिले स्वीकृति दिने तीन पात्रो ९पञ्चांग० नेवार समुदायका पञ्चांगकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशीलगायत नेवार समुदायकै पञ्चांगकारले पनि कात्तिक ३० गते नै म्हपूजा गर्ने आफ्ना पञ्चांग पात्रो मा उल्लेख गरेका छन् । भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ ।
प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले सुनाए । यसै दिनदेखि नेपाल संवत् ११४१ सुरु हुन्छ । शास्त्रीय विधिअनुसार भाइपूजा वा किजापूजा पनि मंसिर १ गते नै मनाइन्छ । मंसिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि छ ।
शास्त्रीय वचनअनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ । यसैले मंसिर १ गते नै भाइटीका मनाउनु शास्त्रसम्मत हुने समितिको ठहर छ । नेवार समुदायले भने मंसिर २ गते भाइटीका लगाउने समाचार सार्वजनिक गरेका थिए ।
मंसिर महिनामा भाइटीका परेकाले दाइलाई टीका लगाउनुहुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहेको समितिले जनाएको छ । शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउने अध्यक्ष गौतमको भनाइ छ ।
भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ । प्रत्येक वर्ष कार्तिककृष्ण त्रयोदशीदेखि कार्तिकशुक्ल द्वितीयासम्म यमपञ्चक मनाइन्छ ।
तिहारमा कार्तिककृष्ण त्रयोदशीको साँझदेखि कार्तिकशुक्ल द्वितीयाको साँझसम्म यमदीप दान गरिन्छ । यमदीप दान परिवारको संख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ ।
यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । काग र कुकुरलाई पनि यमदूतका रूपमा मीठा परिकार खान दिएर खुसी बनाउने वैदिक परम्परा छ ।













































































































































































































