आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका भारतीय रिपब्लिक टिभीका संस्थापक एवं प्रधान सम्पादक अर्नब गोस्वामीलाई जेल चलान गरिएको छ ।
एक इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लागेका अर्नबलाई क्वारेन्टिनबाट आइतबार जेल चलान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पक्राउपछि उनलाई अलिबागको एक क्वारेन्टिन केन्द्रमा राखिएको थियो ।
त्यहाँ उनले मोबाइल फोन चलाएको पाइएपछि तलोजा जेल चलान गरिएको हो । उनी अन्य व्यक्तिको मोबाइलबाट सामाजिक सञ्जालमा सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
जेल लैजाने तयारी गर्दा अर्नबले आफूमाथि हिरासतमा कुटपिटसमेत भएको आरोप लगाएका छन् । फिरोज सेख र नीतीश शारदालाई सन् २०१८ को ४ नोभेम्बरमा आत्महत्या गर्न बाध्य बनाएको आरोपमा मुम्बई प्रहरीले तीन दिनअघि उनलाई पक्राउ गरेको थियो ।



















































































































































































































