३० बैशाख २०८२, मंगलवार

 

हिमालयन डिस्टिलरीको नाफा दोब्बर

पछिल्ला दिन उच्च दरले सेयर मूल्य बढिरहेको हिमालयन डिस्टिलरी लिमिटेडले नाफा लगभग दोब्बर बनाएको छ । कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ९२.१७ प्रतिशतले बढेको जनाएको छ ।

कम्पनीले गत वर्षको असोजमा ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यसपालिको असोजमा १८ करोड ७४ लाख रुपैयाँ नाफा गरेको छ ।

कम्पनीले तीन महिनामा ६२ करोड ३३ लाख रुपैयाँको उत्पादन बिक्री गरेको छ । गत वर्षको भन्दा यो साढे ५३ प्रतिशतले बढी हो । त्यस बेला ४० करोड ६१ लाखबराबरका उत्पादन बिक्री भएको थिए । गत आर्थिक वर्षभरि कम्पनीले २ अर्ब ३४ करोड रुपैयाँको उत्पादन बिक्री गरेको थियो ।

५७ करोड ८४ लाख रुपैयाँ सेयर पुँजी रहेको कम्पनीले उल्लेख्य रूपमा प्रशासनिक खर्च घटाएको छ । ३१ करोडको खर्चलाई २० करोड ४० लाखमा सीमित गरेको छ ।

यसले पनि कम्पनीको नाफामा उच्च सुधार देखिएको हो । यद्यपि कर्मचारी खर्च भने ८८ लाख रुपैयाँले बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२९ रुपैयाँ छ ।

पीइ अनुपात १३.९५, प्रति सेयर नेटवर्थ २४९ रुपैयाँ छ । उल्लेख्य नाफा बढाए पनि कम्पनीले कोभिडका कारण आगामी त्रैमासिकको कारोबारमा भने नकारात्मक प्रभाव पर्न सक्ने आकलन गरेको छ । कम्पनीको प्रमुख उत्पादन ‘गोल्डेन’ ओक हो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung