१९ भाद्र २०८३, शुक्रबार

 

नेपालबाट पाम आयल निकासीमा भारत असन्तुष्ट

भारतले तेस्रो मुलुकबाट पाम आयल आयात गरेर निर्बाध रूपमा जस्ताको तस्तै पाम निकासी गर्न दिएको भन्दै नेपालसँग असन्तुष्टि जनाएको छ । नेपाल–भारत सचिवस्तरीय अन्तरसरकारी समिति ९आईजीसी० बैठकमा भारतले यस्तो कुरा उठाएको हो ।

नेपालका उद्योगीले मलेसिया र इन्डोनेसियाबाट पाम आयात गर्छन् । नेपालमा पाम उत्पादन हुँदैन । अहिले भारतले नेपालबाट निकासी हुने पाममा प्रतिबन्ध लगाएको छ । पाम निकासी बन्द भएपछि उद्योगीले सोयाबिन तेल निकासी गरिरहेका छन् ।

वाणिज्य मन्त्रालयका सहसचिव प्रकाश दाहालले पाम आयल मूल्य अभिवृद्धि नगरी निकासी भएको भन्दै भारतले चासो राखेको बताएका छन् । ‘भारतीय पक्षबाट तेस्रो मुलुकबाट पाम आयल ल्याएर कुनै भ्यालु एड नगरी निकासी गरिएको आशय व्यक्त भएको थियो,’ उनले भनेका छन्, ‘तर हामीले साफ्टा सुविधाअन्तर्गत हुनुपर्ने मूल्य अभिवृद्धि गरेर उत्पादन गर्ने उद्योग नै देखाउन तयार रहेको जानकारी दियौं ।’ उनले नेपालमा ३० प्रतिशत ‘भ्यालु एड’ भएर मात्रै पाम निकासी भइरहेको जानकारी दिए ।

साफ्टा सम्झौताको फाइदा उठाउँदै नेपालका उद्योगीले तीन वर्षअघि शून्य भन्सार महसुलमा पाम तेल भारततर्फ निकासी गर्न थालेका थिए । नेपालबाट साफ्टाअन्तर्गत पाम तेल निर्यात गर्दा भारतमा वस्तु तथा सेवा कर ९जीएसटी० बापत १२ प्रतिशत तिर्नुपथ्र्यो । जीएसटीको उक्त रकम भारतीय क्रेताले तिर्ने हुँदा नेपाली व्यवसायी कर र शुल्कबाट पूर्णतः मुक्त थिए ।

भारतले नेपालबाट निकासी हुने वस्तुमा प्रश्न उठाएको यो पहिलो पटक होइन । विगतमा समेत तेस्रो मुलुकबाट सामान आयात गरेर निकासी गरेको भन्दै आइजीसी बैठकमा गम्भीर प्रश्न उठाएको थियो ।

तेस्रो मुलुकबाट आयातित सुपारी नेपालबाट अवैध रूपमा भारत निकासी भएको विषय नेपाल–भारत व्यापार वार्तामा भारतीय अधिकारीले गम्भीर रूपमा उठाउँदै आएका छन् । केही वर्षअघिको वार्तामा समेत भारतले यही मुद्दा उठाएर अरु मुद्दालाई गौण बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung