३ श्रावण २०८३, आईतवार

 

कोरोनामा यसरी धानिँदै छन् मदिरा उद्योग

– क्रिस बारान्यु

कोरोना भाइरस महामारीका कारण लागू गरिएका विभिन्न सुरक्षाका उपायमध्ये रेस्टुराँ, बार, पबजस्ता मदिरा विक्री हुने स्थान बन्द हुनुका साथै हवाई यात्रुहरू नहुँदा करमुक्त ‘ड्युटी फ्री’ पसलहरूबाट हुने मदिराको विक्री स्वात्तै घट्न पुगेको छ ।

स्कच ह्विस्की भनेर लोकप्रिय एक प्रकारको ह्विस्की उत्पादकहरूको संगठन स्कच ह्विस्की एसोसिएसनका प्रवक्ता फ्रेजर ग्रिइभ भन्छन्, ‘स्कचको निर्यातमा ३० प्रतिशतले कमी आएको छ । यो ठूलो आँकडा हो किनकि स्कटल्यान्डमा उत्पादन हुने ह्विस्कीले यूकेबाट हुने समग्र खाद्य र पेय पदार्थको निर्यातमध्ये पाँच भागको एक भाग ओगट्ने गर्छ ।’ यूकेका डिस्टिलरीहरूको आम्दानीको ठूलो स्रोत समुद्रपारिको बजार नै रहेको ग्रइभ बताउँछन् ।

समस्याग्रस्त समयमा डिस्टिलरीहरूले आम्दानीको विभिन्न उपाय गरेका छन् । जस्तै कास्क भनिने पुराना तर दुर्लभ ह्विस्की भण्डारण गर्ने काठका भाँडा र ह्विस्की उत्पादनमा प्रयोग हुने माल्टको लिलामी गरेर हजारौँ पाउन्ड आम्दानी गरिएको छ । कतिले ह्विस्कीका साथै ‘ह्यान्ड स्यानिटाइजर’ पनि बनाएर तिनलाई अस्पाताल र वृद्ध हेरचाह केन्द्रहरूमा निःशुल्क वितरण गरेका छन् ।

कामदारहरूको व्यक्तिगत सुरक्षाका उपाय पालना गर्दै सञ्चालनमा रहेको सानो स्तरको तर प्रतिष्ठित एउटा ह्विस्की निर्माता टाम्धु पनि हो । उक्त डिस्टिलरीका व्यवस्थापक स्यान्डी मक्इन्टाअर हुन् । उनको कम्पनीले विभिन्न सुरक्षाका उपायहरूको योजना बनाएको छ । जसको अर्थ डिस्टिलरी सञ्चालनमा व्यवधान नहोस् भनेर कामदारको सुरक्षाका लागि आवश्यक पीपीईलगायतका सुरक्षाका उपकरण र सामग्रीहरूको पर्याप्त भण्डारण गरिएको छ ।

यसका साथै डिस्टिलरीहरूले मदिरा उपभोक्ताको बदलिँदो व्यवहारसँग पनि आफूलाई अनुकूलन गर्दै लगेका छन् । उदाहरणका लागि बाकार्डी मदिराले बार, रेस्टुराँ र होटेलहरूमा आफ्नो विक्री घटेको अनुभव ग¥यो तर खुद्रा पसलमा भने घरमै बसेर मदिरा सेवन गर्नेहरूले खरिद गर्दा त्यस्तो प्रकारले उक्त मदिराको विक्री बढेको देखियो ।

बाकार्डीको यूकेस्थित व्यवसाय सञ्चालन व्यवस्थापक निआल मिचेल भन्छन् ‘हाम्रो नयाँ आवश्यकताअनुसार त्यस्तो ठूलो आकारको सिसी बनाउन र किन्न हामीले सिसी उत्पादकसँग निकै नजिकबाट मिलेर काम गर्नुपरेको थियो ।’ ह्याण्ड स्यानिटाइजर पनि बनाउने बाकार्डीका डिस्टिलरीहरूले दुई हप्ताको समयभित्रै आपूर्तिकर्ताहरूबाट प्लास्टिकका बोतलहरू किन्न सफल भएका थिए । अर्को उल्लेखनीय आम्दानीको स्रोत भनेको खास विशेषता भएका ‘स्पेसिएलिस्ट ह्विस्की’को विक्री बन्न पुगेको छ ।

ह्विस्कीसम्बन्धी परामर्शदाता र लेखक ब्लेएर बोमन दुर्लभ र विशेष संस्करणका ह्विस्की कास्कहरू किन्न धेरै पैसा खर्च गर्न तयार क्रेताहरूका निम्ति मध्यस्थताको काम पनि गर्छन् । यस्ता विशेष ह्विस्कीहरूले ‘आँखै रसाउने गरी’ चर्को मूल्य प्राप्त गर्न सक्छन् जुन करोडौँ रूपैयाँका पनि हुन सक्ने उनी बताउँछन् । ग्राहकले त्यस्ता ह्विस्की कास्कहरूलाई सान र प्रतिष्ठाको वस्तुका रूपमा किनेर आफ्नो ह्विस्की संकलनमा राख्न चाहने उनी बताउँछन् ।

ह्विस्की खरिद गर्नु एउटा विशुद्ध आर्थिक लगानीका रूपमा पनि रहेको छ । टाम्धुका स्यान्डी मक्इन्टाअर पनि एसियाली ग्राहकहरूले ह्विस्कीका कास्कहरू खरिद गर्न बढ्दो रुचि देखाइरहेको बताएका छन् । यसबाट सिसीहरूमा रहेका ह्विस्कीको विक्रीमा आएको कमीबाट हुन गएको क्षतिपूर्ति गर्न सहज भएको उनको भनाइ छ । थोकमा हुने ह्विस्कीको विक्री पनि हालै ‘दोहोरो अंक’ले बढेको उनले बताए जुन उच्च मूल्यको ह्विस्कीको बजार हालको जस्तो असहज समयमा पनि टिकिरहेको संकेत हो ।

बोमन भन्छन्, ‘लकडाउनका कारण सुरुमा ह्विस्की उद्योग शतप्रतिशत धराशायी हुने हो कि भन्ने चिन्ता लागेको थियो । जसको अर्थ लगभग दश वर्षको समयमा ह्विस्की बजारमा परिपक्व भएको स्क्चको उल्लेख्य अभाव देखिन सक्ने अवस्था हुन्थ्यो ।

यो वर्ष डिस्टिलरीहरूले केही साना अवरोधबाहेक उत्पादन कायम राख्न सक्षम भएका छन् ।’ टाम्धुले आफूहरूको उत्पादन यस वर्ष पहिलेको दाँजोमा दुई प्रतिशत जतिले मात्रै कम हुने व्यवस्थापक मक्इन्टाअरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung