
भारतमा किसान आन्दोलन चर्किएको छ । राजधानी दिल्लीका चारैतिरका मुख्य बाटो किसानले बन्द गरेका छन् । त्यसका निम्ति ट्र्याक्टर र अन्य कृषि औजार प्रयोग गरिएका छन् । कृषि कानुनले निम्त्याएको उक्त विरोधले अन्तर्राष्ट्रिय ध्यान तानेको देखिन्छ । जसमा जोडिएका छन्, अमेरिकी राष्ट्रपति बराक ओबामा र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो ।
बराक ओबामा राष्ट्रपति छँदा उनले कैयौँ अवसरमा भारतीय प्रधानमन्त्रीसँग भेट गरेका थिए । दुई जना सँगै उभिएको तस्बिर सामाजिक सञ्जालमा देखिएको छ । त्यसमा सन् २०१४ मा ह्वाइट हाउसमा मोदीसँग भएको भेटप्रति उनले पछुतो व्यक्त गरेको देखिन्छ । केही त्यस्ता तस्बिरहरूलाई किसानप्रति समर्थन जनाउन प्रयोग गरिएका छन् ।
मोदी र ओबामाको उक्त तस्बिर त्यस वर्ष दुई नेताबीच भएको वास्तविक बैठककै हो । तर ट्विटर पोस्ट झूटो हो । ट्विटर पोस्ट गलत स्पेलिङसहित कमजोर अंग्रेजीमा लेखिएको छ । ओबामाको ट्विटर प्रोफाइल सम्पादन गरेर त्यसमा राखिएको देखिन्छ । ओबामाको ट्विटर टाइमलाइन जाँच गर्दा पनि गत महिना प्रदर्शन सुरु भएयता त्यस्तो ट्विट गरेको देखिन्न ।
त्यस्तै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो प्रदर्शनमा भारतीय सरकारको प्रतिक्रियाबारे चिन्ता व्यक्त गरेपछि विवादमा तानिएका छन् । त्यसलाई लिएर उनले सार्वजनिक रूपमा भारतीय सरकारको असन्तुष्टिको सामना गर्नुपरेको थियो । त्यो विषय एकातिर छ । केही मानिसले ट्रुडोको एउटा तस्बिर भ्रमपूर्ण सूचना प्रवाहको निम्ति सामाजिक सञ्जालमा प्रयोग गरेका थिए । जसमा उनी आन्दोलनप्रति ऐक्यबद्धता जनाउन सिख समुदायको एउटा समूहसँग बसिरहेको दाबी गरिएको छ ।
भारतमा धेरै सिख किसान छन् । क्यानडामा कैयौँ सिखसहित भारतीय मूलका मानिसको ठूलै जनसंख्या छ । तर उक्त तस्बिर भ्रमपूर्ण हो किनकि त्यो कम्तीमा पाँच वर्ष पुरानो हो । त्यो कुरा प्रधानमन्त्री कार्यालयले बीबीसीसँग पुष्टि गरेको छ ।
उसले तस्बिरमा ट्रुडोको दाह्री नदेखिएको तर अहिले उनले दाह्री पालेको पनि उल्लेख ग¥यो । उक्त तस्बिर उनी सन् २०१५ को नोभेम्बर महिनामा अटोवास्थित सिखहरूको एउटा धार्मिक केन्द्रको भ्रमणमा गएका बेलाको हो । जुन भ्रमणबारे स्थानीय सञ्चार संस्थाले समाचार प्रवाह गरेका थिए ।