नेपाली चिउराले अन्तर्राष्ट्रिय बजार पाउन थालेको छ । स्थानीय बजारमा उत्पादन भएका चिउरा तथा भुजा युरोप, अमेरिकालगायत मुलुकमा निर्यात भइरहेको छ ।
चालू आर्थिक वर्षको पाँच महिनामै झन्डै ९ करोड रुपैयाँबराबरको चिउरा र भुजा आठ मुलुकमा निर्यात भएको छ । यो गत आर्थिक वर्षभरको भन्दा झन्डै २ सय प्रतिशतले बढी हो ।
भन्सार विभागको तथ्यांकअनुसार पाँच महिनामा अस्ट्रेलिया, बेल्जियम, हङकङ, भारत, जापान, कोरिया, बेलायत, अमेरिकामा ८ करोड ८० लाख ७५ हजार रुपैयाँको २ लाख ९७ हजार ३ सय १६ किलो चिउरा निर्यात भएको छ । सानो परिमाणमा भुजा पनि निर्यात भएको देखिन्छ ।
पाँच महिनामा हङकङमा ८ सय ५० किलो भुजा ९१ लाख ७३ हजार रुपैयाँको० निर्यात भएको छ । यी मुलुकमध्ये सबैभन्दा धेरै अमेरिका र अस्ट्रेलियामा खपत भएको छ । पाँच महिनामा अमेरिकामा ४ करोड ६८ लाख ८९ हजारबराबरको चिउरा निर्यात भएको छ भने अस्ट्रेलियामा २ लाख ३० लाख रुपैयाँबराबरको भएको छ ।
चालू आर्थिक वर्षको पाँच महिनामा निर्यात भएको चिउरा गत वर्षभन्दा १८८ प्रतिशतले धेरै हो । गत वर्षका तथ्यांकअनुसार ३ करोड ५ लाख ४४ हजार रुपैयाँको १ लाख ६ हजार ९ सय २९ चिउरा निर्यात भएको थियो । उक्त वर्ष अस्ट्रेलिया, बेल्जियम, भारत, जापान, बेलायत, अमेरिकामा चिउरा निर्यात भएको थियो ।
गत वर्ष सबैभन्दा धेरै अमेरिकामा १ करोड ५८ लाख रुपैयाँबराबरको ४२ हजार ९ सय ६ केजी चिउरा निर्यात भएको थियो । त्यस्तै अस्ट्रेलियामा ७६ लाख ८२ हजार, बेलायतमा झन्डै ४० लाख र जापानमा २१ लाखभन्दा धेरैको चिउरा निर्यात भएको तथ्यांकमा उल्लेख छ ।
















































































































































































