१९ भाद्र २०८३, शुक्रबार

 

गरुड सिमेन्टमा चिनियाँ लगानीकर्ता भित्रिँदै

एसजी अर्गनाइजेसनले लगानी गरेको गरुड सिमेन्टमा चिनियाँ लगानीकर्ता भित्रिने भएका छन्। चीनको टप सिमेन्ट उत्पादक कम्पनीसँग ‘जोइन्ट भेन्चर’ का लागि सम्झौताको चरणमा पुगेको छ। यो समूहले चिनियाँ कम्पनीको नाम भने ‘गोप्य’ राखेको छ।

अर्गनाइजेसनका अध्यक्ष शिवप्रसाद घिमिरेले नेपाल–चीनबीच नियमित हवाई उडान सुरु भएपछि लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने जानकारी दिए। ‘कोभिडअघि नै चिनियाँ कम्पनीका प्रतिनिधि आएर हाम्रो खानी हेरिसकेका छन्। खानीको चुनढुंगा लिएर गएर प्रयोगशालामा अध्ययन गरी लगानीका लागि कन्भिन्स भइसकेका छन्,’उनले बिजमाण्डूसँग भने, ‘दुई देशबीच नियमित फ्लाइट हुनेबित्तिकै सम्झौता हुनेछ।’

यो परियोजना लगानी बोर्डमार्फत अगाडि बढेको छ। चिनियाँ लगानीकर्ताले सुरुमै दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने गरी प्लान्ट लगाउन प्रस्ताव गरेका छन्। सुरुमा घिमिरेले १४ अर्ब लगानीमा दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने गरी प्रक्रिया अगाडि बढाएका थिए।

‘चिनियाँ कम्पनीले सुरुमै ६ हजार टन सिमेन्ट उत्पादन गर्न प्रस्ताव गरेको छ। त्यसपछि क्षमता विस्तार गर्ने मुडमा छन्,’ उनले भने, ‘उनीहरूले एकै पटक दोब्बर उत्पादनको प्रस्ताव गरेका कारण सिन्धुलीमा अर्को खानी समेत किनिसकिएको छ।’

कम्पनीले यसअघि काभ्रेको खानीखोला गाउँपालिकामा खानी किनेको थियो। अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गरेर माटो सम्याउने काम गरिरहेको छ। काभ्रेमा करिब सात वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खानी उत्खनन गर्न खानी तथा भूगर्भ विभागसँग उद्योगले लिजमा लिएको छ।

चुनढुंगा खानीको गुणस्तर अध्ययनको काम स्वायल इन्भेस्टिगेसन एन्ड सल्युसनले गरिसकेको छ। उद्योगका लागि २२ मेगावाट बिजुली आवश्यक पर्छ। उद्योगले तापीय प्रणालीबाट ६ मेगावाट बिजुली उत्पादन गर्नेछ। उद्योग र खानीको दूरी १२ किलोमिटरको मात्रै फरक रहेको उनले बताए। ‘हाम्रो स्टाटेजिक लोकेसनमा उद्योग र खानी छ।

सिमेन्ट उत्पादन सस्तो बनाउन लोकेसन नै महत्त्वपूर्ण हो,’ घिमिरेले भने। उनका अनुसार सिमेन्टको खपत ५६ प्रतिशतभन्दा बढी राजधानी र वरपरका जिल्लामा छ। त्यही स्थानलाई आधार बनाएर उद्योग स्थापना गर्न लागिएको हो । ‘धरान–चतरा–हेटौंडा सडक, फास्ट ट्रयाक र काठमाडौं सबैसँग नजिकमा हाम्रो उद्योग पर्छ,’ घिमिरेले भने,’हाम्रो उत्पादनका लागि आवश्यक पर्ने सडक सुविधा राम्रो हुँदै छ। यसले बजारीकरणलाई समेत सहयोग पुर्‍याउँछ।’

सिमेन्टमा चिनियाँ लगानी बढ्दो
पछिल्लो समय चिनियाँ कम्पनी नेपालको सिमेन्ट उद्योगमा आकर्षित भइरहेका छन्। सुरुमा होङसीले नेपालमा शिवम सिमेन्टसँग जोइन्ट भेन्चर गरेको थियो। त्यसपछि उद्योगी सुरज वैद्यसँग साझेदारी गरेर हुवासिन सिमेन्ट निर्माण भइरहेको छ। त्यसबाहेक होङसीको रेडलाइनले दाङ सिमेन्ट स्थापना गर्दै छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung