१९ भाद्र २०८३, शुक्रबार

 

स्ट्रोङ बियरको माग बढ्दा प्रिमियमको बजार खस्कियो

केही वर्षअघिसम्म प्रिमियम र स्ट्रोङ बियरको बजार हिस्सा बराबरी जस्तै थियो । तर अहिले प्रिमियमको भन्दा स्ट्रोङ बियरको बजार दोब्बर भइसकेको छ ।

स्ट्रङ बियरको बजार हिस्सा बढेर ७२ प्रतिशत पुगेकोमा प्रिमियम बियरको २८ प्रतिशतमा झरेको व्यवसायी बताउँछन् । बजार हिस्सा बढ्दै गएपछि बियर कम्पनीहरूले पनि प्रिमियमको उत्पादन घटाएर स्ट्रोङको बढाएका छन् । प्रिमियम मात्रै उत्पादन गर्ने कम्पनीहरूले पनि बीचमै स्ट्रोङ बियर उत्पादन गरेर बजारमा ल्याएका छन् ।

उपभोक्ताले प्रिमियमभन्दा पनि स्ट्रोङ बियर आफ्नो रोजाइमा पार्न थालेपछि उत्पादकहरूले उनीहरूको मनोभावलाई बुझेर सोही अनुसारको उत्पादन बजारमा ल्याउन थालेको यती बु्रअरीका महाप्रबन्धक अरुण केसी बताउँछन् ।

अहिले बजारमा यती बु्रअरीको अर्ना स्ट्रोङ, किंगफिसर स्ट्रोङ, शिखर स्ट्रोङ, गोर्खा बु्रअरीको गोर्खा स्ट्रोङ, टुबोर्ग स्ट्रोङ, हिमालय ड्रागन स्ट्रोङ, त्यस्तै याक बु्रअरीको बाह्रसिङ्गे स्ट्रोङ, राज बु्रअरीको नमस्ते स्ट्रोङ, फोस्टर स्ट्रोङ, माउन्टेन आइस स्ट्रोङ छन् ।

यस्तै टाइगर बु्रअरीको लन्डन आइस स्ट्रोङ, टेन्सबर्ग स्ट्रोङ, नेपाल आइस स्ट्रोङ, सीजी बु्रअरीको रियल गोल्ड स्ट्रोङ, नेपाल आइस स्ट्रोङ, ५००० स्ट्रोङ, हिमालय बु्रअरीको आइसबर्ग स्ट्रोङ, काठमाडौं स्ट्रोङ, कमान्डो स्ट्रोङ, माउन्ट एभरेस्ट बु्रअरीको गोल्डेन टाइगर स्ट्रोङ, राइनो स्ट्रोङ र नेपाल बु्रअरीको स्टार स्ट्रोङ बियर उत्पादन भइरहेको छ ।

नेपाली उपभोक्ताहरूले बियरमा पनि अल्कोहलको मात्रा बढी खोजेपछि कम्पनीहरूले पनि बढाउन स्ट्रोङ बियर बजारमा पठाउन थालेका हुन् । ‘बियर खाएपछि लाग्ने बियर हुनुपर्यो’ भन्ने मानसिकतामा उपभोक्ता हुँदा बियर पनि स्ट्रोङमा आउन थालेको केसी बताउँछन् ।

सीजी बु्रअरीका बिजनेस युनिटका सिनियर जनरल म्यानेजर प्रदीप पुडासैनीले नेपाली बजारमा लार्जर बियरको बजार घट्दै गएको र ३३० एमएलको स्ट्रोङ बियरको हिस्सा बढिरहेको बताउँछन् । नेपाली उपभोक्ताले अलि बढी अल्कोहल भएको बियर खोज्न थालेपछि स्ट्रोङबाट पनि सुपर स्ट्रोङ बियर आउन थालेको उनको भनाइ छ ।

सुपर स्ट्रोङमा यती बु्रअरीले पछिल्लो पटक ८ प्रतिशत अल्कोहलको अर्ना एटलाई बजारमा ल्याएर आक्रामक बजार हिस्सा ओगटिरहेको छ । त्यस्तै सीजी बु्रअरीले हालै ८ प्रतिशतकै मुस्ताङ स्ट्रोङ बियर सार्वजनिक गरेको छ । ३३० एमएल बोतलमा ल्याइएको बियरले लार्जर बियरको बजार सजिलै खोस्ने पुडासैनी बताउँछन् ।

केही वर्षअघिसम्म स्ट्रोङ बियरमा निम्न गुणस्तरको समस्या पनि थियो । तर अहिले स्ट्रोङ बियरको गुणस्तरमा कुनै समस्या छैन । अहिले जति स्ट्रोङ बियर खाँदा पनि ह्याङ हुँदैन । खाएको भोलिपल्ट टाउको दुख्ने वा ह्याङ हुने भयो भने त्यो ब्रान्ड भोलिपल्टै बजारबाट हराउने सम्भावना रहेको उत्पादकहरू बताउँछन् ।

बियरमा अधिकतम ८ प्रतिशत अल्कोहल हाल्न पाइने सरकारी नियम छ । त्यतिसम्म अल्कोहल हालेर बनाइएका बियर नेपाली बजारमा छन् । अहिले साढे ६ सय एमएलको प्रिमियम बियरको मूल्य बजारमा २८० रुपैयाँभन्दा माथि पर्छ भने स्ट्रोङ बियरको मूल्य बजारमा १६५ रुपैयाँबाट सुरु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung