नेपाल उद्योग वाणिज्य महासंघले कोभिड प्रभावित उद्योगलाई पुनरुत्थान र पुनःसञ्चालनका लागि नीतिगत एवं कार्यगत संंरक्षणको आवश्यकतामा जोड दिएको छ ।
महासंघको उद्योग समितिका सभापति भरतराज आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग विभागका महानिर्देशक जीवलाल भुसाललाई भेट गरी उद्योग क्षेत्रमा आपसी सहकार्यका विषयमा छलफल गरेको थियो ।
उक्त अवसरमा सभापति आचार्यले महासंघको उद्योग समितिका कार्यक्षेत्र एवं समितिका आगामी कार्ययोजनाबारे जानकारी गराए । भेटवार्तामा उद्योगका लागि आवश्यक जग्गा प्राप्ति सहज गरिनुपर्ने, एकल विन्दु सेवाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, स्वदेशी उद्योगको संरक्षण गर्न सार्वजनिक खरिद नियमावलीको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने माग राखिएको थियो ।
उद्योगका लागि आवश्यक पूर्वाधारको सरल र भरपर्दो व्यवस्था हुनुपर्ने, जनशक्ति विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन र सहयोग गर्नुपर्ने, औद्योगिक व्यवसाय ऐन कार्यान्वयन गर्ने सम्बन्धमा देखापरेका व्यावहारिक एवं संस्थागत कठिनाइबारे विभाग र महासंघबीच कार्यदल गठन गरी सुझाव संकलन गर्नुपर्नेमा जोड दिइएको छ । उद्योग क्षेत्रको संख्यात्मक एवं गुणात्मक अध्ययन गर्न आवश्यक रहेकाले त्यसका लागि आपसी सहकार्य गर्नेलगायत सुझाव राखिएको महासंघले जनाएको छ ।
विभागका महानिर्देशक भुसालले महासंघसँग नजिकमा रहेर कार्य गर्न विभाग तयार रहेको भन्दै जायज मागहरू सम्बोधन गर्दै जाने विश्वास दिलाए । उनले एकल विन्दु सेवालाई प्रभावकारी बनाउन छाता ऐन आवश्यक भएकाले महासंघबाट अर्थपूर्ण सहयोगको अपेक्षा गरेको पनि बताए । उद्योगको संख्यात्मक र गुणात्मक अध्ययन गर्ने कार्यका लागि महासंघले राखेको प्रस्तावलाई विभागका तर्फबाट पूर्ण समर्थन रहेको उनको भनाइ थियो ।
















































































































































































