३ श्रावण २०८३, आईतवार

 

२०७८ मा तीन वटा दशैं

२०७८ सालमा तीन दशैँ परेका छन् । नयाँ वर्षको चैत शुक्ल पक्षमा दुई वटा चैते दशैँ परेका छन् । आगामी वैशाख ७ गते मंगलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रोमा पनि २०७८ सालमा तीनवटा दशैँ परेको उल्लेख गरिएको छ ।

यस्तै विसं २०७८ को चैत २६ गते शनिबार अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको छ । बडादशैँको रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना गरेर शुरु हुनेछ ।

असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी परेको छ । कार्तिक कृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मङ्गलबारदेखि शुरु हुनेछ ।

दशैँ र तिहार नेपालका प्रमुख चाडपर्व हुन्। तिहारको लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दशैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँदै आएका छन् । शक्ति पीठ र देवीको आराधना गर्न वर्षमा चार नवरात्र पर्ने गर्छन् । चैत्र शुक्ल र आश्विन शुक्लको दशैँलाई नेपालीले महत्वका साथ मनाउने गरेका समिति अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए।

वर्षमा चार पटक चैत, असार, असोज र पुस शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छन्। असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आम रूपमा मनाउँदैनन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung