३ श्रावण २०८३, आईतवार

 

कोरोना ‘हटस्पट’ बन्दै बागलुङ नगर, छैन बागलुङ नगरपालिकाको आफनै एम्बुलेन्स

जिल्लाकै सबैभन्दा बढी सक्रिय संक्रमित रहेको बागलुङ नगरपालिकाले आफ्नै एम्बुलेन्स नहुँदा पैयुँपाटा स्वास्थ्य चौकीसँग मागेर काम चलाइरहेको छ ।

पहिलो चरणको कोरोनाकै समयमा आफ्नै एम्बुलेन्स र शववाहन नभएको भन्दै आलोचना खेपेको नगर नेतृत्वले अझै पनि खरिद गर्न नसकेको हो ।

‘नगरपालिकाको आफ्नै एम्बुलेन्स छैन, पैयुँपाटा स्वास्थ्य चौकीसँग मागेर कोरोनाका बिरामी बोक्ने काम भएको छ,’ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले भने, ‘नगरपालिकाको आफ्नै एम्बुलेन्स नहुँदा समस्या छ ।’

सोही एम्बुलेन्स चालकलाई कोरोना संक्रमण भएपछि उनी अहिले आराम गरिरहेका छन् । त्यसैले अर्कै चालक राखेर एम्बुलेन्स सञ्चालन भइरहेको छ ।

अस्पताल,स्वास्थ्य संस्था र सामाजिक संस्था मार्फत एम्बुलेन्स ल्याउदा धेरै राजस्व छुट हुने भएको पालिकाले आफै नल्याए पनि अस्पताल,स्वास्थ्य संस्था र सामाजिक संस्था मार्फत एम्बुलेन्स ल्याउने कामलाई अगाडि बढाएन् ।

गत वर्षको कोरोनापछि धौलागिरि अस्पतालमार्फत एम्बुलेन्स ल्याउने पहल भए पनि अस्पताल व्यवस्थापन समितिले चालकको समेत तलबको व्यवस्था गर्न नगरपालिकालाई आग्रह गरेपछि एम्बुलेन्स र शववाहन ल्याउने काम रोकिएको बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्काले जानकारी दिए ।

आजसम्म बागलुङ नगरमा कोरोना संक्रमितको संख्या १ सय ८३ जना पुगेको छ ।होमआइसोलेसनमा १ सय ७१ जना छन् भने धौलागिरि अस्पतालमा १२ जना उपचाररत छन् ।रात्माटाको आइसोलेसनमा ३ जना छन । अहिलेसम्म ५४ जना कोरानो मुक्त भएका छन् ।

कोरोनाको दोस्रो लहर भित्रिएको एक महिना नाघ्दा पनि यसविरुद्ध लड्न जिल्लाका निकायहरूले आफूलाई चाहिने आपतकालीन सामानको जोहो गर्न राम्ररी पहल थालेका छैनन् ।

मेयरले तत्काल एम्बुलेन्स र शववाहनको व्यवस्था गर्नुपर्छ : अधिवक्ता शर्मा

नागरिक समाजका सदस्य अधिवक्ता राम शर्मा बागलुङ नगरले समयमै अस्पताल, स्वास्थ्यसंस्था, सामाजिक संस्थामार्फत एम्बुलेन्स र शववाहन खरिद गर्नुपर्ने बताउँछन् ।

एम्बुलेन्स खरिद गरेको भए कोरोनाको अपत्कालीन अवस्थामा धेरै काममा ल्याउन सकिने र नागरिकहरूको जीवन रक्षाको लागि प्रयोग गर्न सकिने उनको भनाइ छ ।

‘अहिले सबै पालिकामध्ये बागलुङ नगरपालिकामा धेरै संक्रमित छन् । होम आइसोलेसनमा पनि धेरै छन्,’ शर्माले नयाँ विश्वसँग भने, ‘दैनिक मानवीय क्षति हुन थालेका बेला अत्यन्त महत्त्वको चिकित्सक, स्वास्थ्यकर्मी, सामग्री, आइसोलेसन, शववाहन र एम्बुलेन्सको तत्काल व्यवस्था गरेर नागरिकको बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्नेतर्फ गम्भीर हुनुपर्छ ।’

 एम्बुलेन्सको व्यवस्था गर्दै छौं  : मेयर पौडेल

नगरपालिकाको एम्बुलेन्स नभएकाले हामीले वडामा रहेका एम्बुलेन्सबाट काम चलाइरहेको नगरप्रमुख जनकराज पौडेलले बताए । ‘शववाहन खरिद गर्न ढिला भएको छ, त्यसका लागि नगरपालिकाले खर्च बहोर्ने गरी जिप भाडामा ल्याउँदै छौं,’ उनले भने ।

दुई वर्षअघि स्वास्थ्य मन्त्रालयले पैयुँपाटा स्वास्थ्य चौकीलाई दिएको एम्बुलेन्स अहिले नगरपालिकाले संक्रमित बिरामी बोक्न प्रयोग गरिरहेको हो ।

‘गत वर्ष कोरोनाका बिरामी बोक्न नगरपालिकाले आठ महिना हाम्रो एम्बुलेन्स प्रयोग गरेको थियो,’ बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण पौडेलले भने, ‘गत फागुनदेखि हामीले चलाइरहेको एम्बुलेन्स फेरि एक हप्तादेखि बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले मागेर दिएका छौं ।’

बिरामीको चाप  ह्वात्तै बढे स्वास्थ्य शाखालाई यही एउटा एम्बुलेन्सका भरमा थेग्न चुनौती हुने अवस्था देखिन्छ ।

भएको एम्बुलेन्स मर्मत गर्न सकस

नेपाल रेडक्रस सोसाइटी पैयुँपाटा उपशाखासँग पनि एउटा एम्बुलेन्स छ, भारतीय दूतावासले दिएको । तर ४–५ वर्ष सञ्चालनमा आएको उक्त एम्बुलेन्स पटकपटक दुर्घटनामा परेपछि मर्मत अभावमा ग्यारेजमा थन्किएको वडाध्यक्ष पौडेलले बताए ।

‘मर्मतमा धेरै पैसा लाग्ने भयो, कोषको रकम पनि सकियो । त्यसैले त्यो एम्बुलेन्स बागलुङ बजारको श्रीनगरटोलस्थित एक ग्यारेजमा त्यतिकै राखिएको छ,’ उनले नयाँ विश्वलाई भने ।

अहिले बागलुङ नगरपालिकाका नागरिकहरूले स्वास्थ्योपचारका लागि धौलागिरि अस्पताल आउनुपर्दा र पोखरा, चितवन र काठमाडौंको अस्पतालमा जानुपरे नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको, धौलागिरि अस्पताल, अमलाचौर स्वास्थ्यचौकी र पैयुँपाटा स्वास्थ्य चौकीको एम्बुलेन्स प्रयोग गरिरहेका छन् ।

चालक पाउनै मुस्किल

रेडक्रस बागलुङले आइतबारदेखि कोरोनाका बिरामी बोक्ने गरी एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । गत वैशाख १७ गते पहिलाका चालकले काम छोडेपछि नयाँ चालकलाई नियुक्त गरिएको रेडक्रस सोसाइटी बागलुङ शाखाका उपसभापति राजेन्द्र आचार्यले बताए ।

‘कोभिडको बेला चालक पाउन धेरै ने गाह्रो भयो,बिरामी बोक्दा चालकलाई बस्नका लागि रक्तसञ्चार केन्द्रको कोठा व्यवस्था गरेका छौं । कोरोनाका बिरामि बोक्ने हुनाले चालकलाई विभेद हुने खतरा छ,’ उनले नयाँ विश्वसँग भने, ‘उसबाट अरूलाई संक्रमण नहोस् र चालक पनि सुरक्षित होस् भनेर ध्यान दिनुपर्ने बेला छ ।’

उनका अनुसार उपशाखाले स्वास्थ्य चौकीलाई दिएको एम्बुलेन्स खर्च अभावमा मर्मत हुन सकेको छैन । एम्बुलेन्स मर्मत गर्न तथा चालकको सुरक्षा र निरन्तरताका लागि सबैको सहयोग चाहिने उपसभापति आचार्यले बताए ।गत वर्ष चालकले कोरोनाको विरामि बोक्न नमानेर चालक सम्पर्क विहिन भएका थिए ।

एम्बुलेन्स ल्याउन प्रवासीको भर

नेपाल रेडक्रस सोसाइटी बिहुँ उपशाखाले अस्टे«लियामा काम र अध्ययनका लागि गएका स्थानीयको आर्थिक सहयोगमा ११ लाखमा एम्बुलेन्स खरिद गरेको थियो ।

उपशाखाले उक्त एम्बुलेन्स कोरोनाका बिरामी बोक्ने गरी गत वैशाख १ गते काठेखोला गाउँपालिकालाई उपलब्ध गराएको रेडक्रस बागलुङ शाखाका सदस्य भवानी कँडेलले जानकारी दिए ।

‘म त्यति बेला बिहँु उपशाखाको नेतृत्व गरेका बेला एम्बुलेन्स खरिद गरेर बिरामी बोक्न प्रयोग गरेका थियौं,’ उनले भने, ‘देशलाई कोरोनाले प्रभावित गरेपछि गाउँपालिकालाई दिएका हौं तर उहाँहरूले हामीलाई एम्बुलेन्सको अहिलेको अवस्थाबारे जानकारी दिनुभएको छैन ।’

बिहुँ उपशाखाबाट ल्याएको एम्बलेन्स कोरोनाका बिरामी बोक्न प्रयोग भइरहेको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूर्ण कार्कीले बताए ।

‘एम्बुलेन्स मर्मत र सरसफाइ गरेर राखिएकाले खासै समस्या आएको छैन । अहिले विशेष परिस्थिति भएकोले कोरोनाका बिरामी मात्र बोक्नका लागि प्रयोग गरिरहेका छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung